काठमाण्डौ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३९ लाख रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।

बैंकले पहिलो त्रैमास विवरणअनुसार यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० लाख रुपैयाँले बढी हो । सोही अवधिमा गत वर्ष बैंकले १ करोड १९ लाख रुपैयाँ मुनाफा गर्न सफल भएको थियो ।

बैंकले पहिलो त्रैमासमा १ करोड ९९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिमा १ करोड ७१ लाख रुपैयाँमा सीमित थियो ।

त्यसतै खुद ब्याज आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्ष २ करोड ४५ रुपैयाँले बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ७ करोड २५ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष ४ करोड ८० लाख रुपैयाँमा सीमित थियो ।

बैंकको रिजर्भको आकार भने केही घटेको छ । पहिलो त्रैमासमा बैंकको रिजर्भमा ८ करोड ४९ लाख रुपैयाँ छ । जुन अघिल्लो वर्षको यही अवधिमा ८ करोड ८९ लाख रुपैयाँ थियो ।

बैंकको रिटेन अर्निङ ११ करोड ३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ९ करोड ६० लाख रुपैयाँ थियो ।

बैंकले पहिलो त्रैमासमा ५ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५९ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ५ अर्ब ५३ करोड निक्षेप संकलन गरी ४ अर्ब ५२ करोड ऋण प्रवाह गरेको थियो ।

प्रथम त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १०.५३ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १३६.७६ रुपैयाँ रहेको बैंकको प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु. १२९४.१० रुपैयाँ रहेको छ ।