काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरिरहेका छन्। 

तिनै सूचीकृतमध्ये २६ वटा वाणिज्य बैंकमा सोमबारसम्म १२ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन्। अहिलेसम्म सिद्धार्थ, कुमारी, माछापुच्छ्रे, नेपाल बंगलादेश, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट, सिटिजन्स बैंक इन्टरनेसनल, सानिमा, नेपाल बैंक, ग्लोबल आईएमई र एनआईसी एसिया बैंकले लाभांश घोषणा गरिसकेका हुन्।

यी बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकले घोषणा गरेको छ। यो बैंकले कुल २६ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा २१.३८ बोनस सेयर र ४.६२ नगद लाभांश रहेका छन्।

यसैगरी सानिमाले १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ। यसमा १७ प्रतिशत बोनस सेयर र बाँकी ०.८९ नगद लाभांश रहेका छन्।
नेपाल बैंकले पनि १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश घोषणा गरेको छ। इन्भेस्टमेन्ट बैंक र सिटिजन्स बैंकले समान १६ प्रतिशत लाभांश घोषणा गरेका छन्। जसमा इन्भेस्टमेन्ट बैंकको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद लाभांश रहेका छन्। यस्तै सिटिजन्स बैंकको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद लाभांश रहेका छन्। 

त्यस्तै एनआईसी एसिया, नेपाल बंगलादेश र सिद्धार्थ बैंकले पनि १५ देखि १६ प्रतिशत आसपासमा लाभांश घोषणा गरेका छन्।

एनआईसी एसिया बैंकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। 

नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सिद्धार्थ बैंकले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश रहेका छन्। 

गत वर्षका लागि माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा बोनस सेयर १३.३ प्रतिशत र नगद लाभांश ०.७ प्रतिशत रहेका छन्। 

ग्लोबल आईएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १३ प्रतिशत बढी लाभांश घोषणा गरेका छन्। जसमा ग्लोबल आईएमई बैंकको १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५ प्रतिशत लाभांश तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश रहेका छन्। 

हालसम्म घोषित लाभांशमध्ये सबैभन्दा कम कुमारी बैंकको देखिएको छ। यो बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरी कुल ८.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। लाभांश घोषणा गरेकामध्ये ४ वटा बैंकले वार्षिक साधारणसभा पनि डाकिसकेका छन्। तीमध्ये माछापुच्छ्रे, सानिमा, कुमारी र सिटिजन्स बैंकले वार्षिक साधारणसभा डाकेका हुन्। 

यसैगरी विकास बैंकतर्फ कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरिसकेका छन्। कामना सेवाले १८.५ प्रतिशत बोनस र ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ। 

सांग्रिलाले पनि कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश रहेका छन्।