काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेड पछिल्लो समय धराशायी बन्दै गएको देखिएको छ । यो बैंकले आइतबार प्रकाशित गरेको  चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा  यस्तो अवस्था देखिएको हो । 

बैंकले प्रकाशित गरेको विवरणमा उसको खूद नाफा, संचालन नाफा, खूद ब्याज आम्दानी  तथा प्रतिसेयर आम्दानी घटेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ६०  करोड १४ लाख  नाफा कमाएको बैंकले समीक्षा अवधिमा भने ५५ करोड १५ लाख मात्र नाफा कमाउन सक्यो । 

अनियन्त्रित खर्चका कारण बैंकको संचालन नाफा  समेत घटेको छ । अघिल्लो वर्ष ८६ करोड ५९ लाख रुपैयाँ रहेको संचालन नाफा घटेर  यो वर्ष ७५ करोड ६७ लाखमा सीमित बन्न पुगेको छ । 

यस्तै, व्यवसाय बिस्तारमा खासै ध्यान नदिंदा बैंकको १ अर्ब ३० करोड ९८ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर १  अर्ब ३० करोड ५२ लाखमा सीमित भएको हो । 

समीक्षा अवधिमा बैंकले ७० अर्ब ४३ करोड निक्षेप संकलन गरी ६४ अर्ब ६६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ७० अर्ब निक्षेप संकलन गरी ६२ अर्ब ७८ करोड कर्जा परिचालन गरेको थियो । 

बैंक खराब कर्जा घटाउने बिषयमा समेत असफल देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा १.५१ प्रतिशत रहेको खराब कर्जा बढेर १.८६ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७८.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.२१ गुणा कायम भएको छ । अघिल्लो वर्ष २१.३७ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर १७.६६ रुपैयाँ कायम भएको छ ।