काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुमध्येमै राम्रो प्रदर्शन गर्दै आएको शिखर इन्स्योरेन्सका कतिपय प्रमुख वित्तीय सूचकहरु पछिल्लो समय कमजोर बन्दै गएका छन् । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्मको अवधिमा यो कम्पनीका केही महत्वपूर्ण सूचकमा पहिरो गएको देखिएको हो । 

अघिल्लो आर्थिक वर्षको समानान्तर अवधिको तुलनामा शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी(इपीएस)मा पहिरो गएको छ भने रिजर्ब समेत घटेको छ । यी दुवै सूचक कम्पनीको सवलता मापनमा महत्वपूर्ण मानिन्छन् । 

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको वार्षिकीकृत इपीएस २७.०५ रुपैयाँमा सीमित बन्न पुगेको छ । जब कि अघिल्लो वर्षको यही अवधिमा रु. ४२.५८ रहेको थियो । यसरी इपीएसतर्फ ३६.४८ प्रतिशतको पहिरो गएको देखिएको छ । 

कम्पनी कमजोर बन्दै जाँदा प्रतिसेयर नेटवर्थ पनि घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २८०.४५ रुपैयाँ रहेको प्रतिसेयर नेटवर्थ घटेर यो वर्ष २१३.७१ रुपैयाँमा सीमित बन्न पुगेको देखिएको छ। 

कम्पनीको जगेडा तथा कोष पनि २०.३५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ७१ करोड ८१ लाख रुपैयाँ रहेको कोषको आकार घटेर समीक्षा अवधिसम्म ५७ करोड २० लाखमा सीमित बन्न पुगेको हो । 

गत वर्षको तुलनामा चुक्तापूँजीतर्फ ६६.३२ प्रतिशतले बढोत्तरी भए पनि सो आधारमा आम्दानी तथा नाफा नबढ्दा कम्पनीको लाभांश क्षमतामा पनि निकै ठूलो ह्रास आउने सहजै अनुमान गर्न सकिन्छ । 

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले  ४७ करोड ५७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४५ करोड नाफा रहेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा कम्पनीको नाफा अढाई करोड हाराहारीमा मात्र बढेको देखिएको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब ५२ करोडमा सीमित ग्रस प्रिमियम केही बढी यो वर्ष ३ अर्ब ९७ करोड पुगेको छ । 

बीमा कोष १ अर्ब ५ करोडबाट बढेर १ अर्ब २९ करोड पुगेको छ भने १ अर्ब १८ करोडमा सीमित खूद बीमा शुल्क आर्जन बढेर १ अर्ब २९ करोड पुगेको छ । 

कम्पनीको रिइन्स्योरेन्सबाट हुने आम्दानी ३.१९ प्रतिशत, लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ३.३१ प्रतिशतले मात्र बढेको छ । 

खूद दाबीभुक्तानी २.५४ प्रतिशतले घटेर ८५ करोड २५ लाख रहेको छ भने समीक्षा अवधिमा कम्पनीले पोलिसीको संख्यामा समेत सामान्य मात्र प्रगति गरी २ लाख ७१ हजार पुर्याएको छ ।