काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहले चीनबाट मेडिकल सामान खरीदमा राज्यकोषको दोहन भएको भन्दै त्यसको निन्दा गरेका छन् । 

उनले ट्वीट गर्दै चीनका मेडिकल सामाग्री विश्वका धेरै मुलुकले त्रुटिपूर्ण भन्दै फिर्ता गरेको अवस्थामा नेपाल सरकारले भित्र्याएको र यसमा सरकारले सावधानी नअपनाएको बताएका छन् । 

उनले भनेका छन्–‘कोरोनाविरूद्ध लड्न चीनबाट सामान किनेका धेरै मुलुकले ती सामान त्रुटिपूर्ण भेटिएको भन्दै फिर्ता गरेको अवस्थामा सरकारले भित्र्याएको त्यस्ता सामानले स्वास्थ्यकर्मी र नागरिकमा नकारात्मक प्रभाव पर्नुभन्दा पहिले नै सावधान हुनु जरुरी छ । कुनै बहानामा राज्यकोषको दोहन निन्दनीय कार्य हो ।’

सामाजिक सञ्जालमा निरन्तर अपडेटमा रहिरहेका पूर्व राजाले कोरानाको डरका कारण घर आएका नेपाली नागरिकलाई सीमामा रोकिएकोमा असन्तुष्टि पनि व्यक्त गरेका छन् । 

‘कोरानाको डरका कारण घर आएका हाम्रा नेपाली नागरिक सीमामा रोकिनु परेको खबर आफैंमा प्रिय होइन । कोरोनाले गर्दा आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने र काम नपाएर विचल्ली भएपछि फर्कन खोज्दा घरको ढोकामा तगारो लाग्नुहुन्न ।’ अर्को ट्वीटमा उनले भनेका छन्–‘सरकारले आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेश आउन दिनु उत्तम हुनेछ ।’