– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिसन २५ प्रतिशतले घटाउने गरी तयारी गरेको छ। 

सेबोनमा नियुक्त भएको पहिलो दिनदेखि नै बजारमा लाग्ने लागत घटाएर साना लगानीकर्तालाई राहत दिने बताउँदै आएका अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन घटाउन आवश्यक प्रक्रिया अघि बढाइसकेका छन्। सेबोनमा नियुक्ति भएको केही सातामै अध्यक्ष हमालले बजारमा लाग्ने ब्रोकर कमिसन, डीपी, आस्बालगायतको शुल्क अध्ययन गर्न सेबोनका उपकार्यकारी निर्देशक कृष्णराज पोख्रेलको संयोजकत्वमा अध्ययन कमिटीसमेत गठन गरेका थिए। सोही कमिटीको अध्ययनका आधारमै आस्बा शुल्क घटाएर अधिकतममा ५ रुपैयाँसम्म लिन पाइने व्यवस्था गरेको सेबोन अहिले ब्रोकर कमिसन घटाउन केन्द्रित भएको छ।  

सेबोनका एक उच्च अधिकारीका अनुसार सेबोनले अहिले २५ प्रतिशत ब्रोकर कमिसन घटाउने तयारी गरिरहेको छ। ‘यो प्रस्ताव दुईपटकसम्म सेबोनको सञ्चालक समिति (बोर्ड)को बैठकमा पुगिसकेको छ’, ती अधिकारीले भने, ‘अहिलेसम्म सञ्चालक समितिबाट उक्त विषयमा कुनै पनि किसिमको निर्णय भएको छैन। तर, अध्यक्ष हमाल सञ्चालक समितिको बैठकबाट उक्त प्रस्ताव सकेसम्म छिटो पास गर्ने गरी लागिपरेका छन्।’

लगानीकर्ताले अहिले ब्रोकरलाई ०.४० प्रतिशत कमिसन तिर्दै आएका छन्। ब्रोकर कमिसनको शुल्क घटेर ०.२० प्रतिशत कायम गर्नुपर्ने अधिकांश लगानीकर्ताको माग रहेको छ। तर, ब्रोकरहरु भने नेपालमा ब्रोकर कमिसन एसियाको नै सबैभन्दा कम भएकाले घटाउन नहुने तर्क गर्दै आएका छन्।