काठमाण्डौ । जनता समाजवादी पार्टी(जसपा) कम्तीमा ७ वटा मन्त्रालय लिएर केपी शर्मा ओली नेतृत्वमा सरकार निर्माणको प्रक्रियामा सहभागी हुने भएको छ ।  

प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच यस्तो सहमति बनेको हो । 

जसपास्थित उच्च स्रोतकाअनुसार सो पार्टीका २० सांसदको हस्ताक्षर लिएर हिजो राति महन्थ ठाकुर ओलीको साथमा शितल निवास पुगेका थिए ।

ठाकुरसँग २१ सांसदको साथ रहे पनि राजकिशोर यादव बुबा बितेर किरियामा बसेका कारण २० सांसदको हस्ताक्षरसहित ठाकुर ओलीसँग भेट गर्न पुगेका थिए । सो क्रममा ओलीसँग ठाकुरले १० वटा मन्त्रालय मागेको थियो । ओली कम्तीमा पनि ७ वटा मन्त्रालय दिन तयार भएपछि मोटामोटी सहमति बनेको जसपाका ती नेताले बताए । 

कम्तीमा ७ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति बन्नुअघि केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठकबाट नागरिकता सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने र संविधान संसोधनका लागि विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गराइसकेका थिए । यी निर्णय गराएपछि जसपाको ठाकुर पक्ष ओलीलाई साथ दिने निश्कर्षमा पुगेको हो । 

ठाकुर पक्षको साथ पाएपछि केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार बहमुतप्राप्त प्रधानमन्त्रीको रुपमा आफ्नो दाबी पेश गर्ने तयारी गरेका छन् । 

केहीबेरअघि बसेको जसपाको संसदीय दलको बैठकमा समेत ओलीसँगको सहमतिको विषयमा सांसदहरुलाई जानकारी गराइएको थियो । ओलीले आफ्ना अधिकांश माग पूरा गरेका र केही माग पूरा गर्ने क्रममा रहेका कारण विश्वासको वातावरण बनेको र आफ्नो दल सरकारमा सहभागी हुने निश्कर्षमा पुगेको ठाकुरले सांसदहरुलाई जानकारी गराएका थिए । सांसदहरुले समेत ठाकुरको प्रस्तावलाई समर्थन जनाएका छन् । 

ठाकुर पक्ष सरकारमा सहभागी हुने निश्कर्षमा पुगेसँगै जसपाको संसदीय दलको कार्यालयमा संसदीय दलको नेताको रुपमा राजेन्द्र महतोको नेमप्लेट समेत टाँगिएको छ । 

एक सांसदका अनुसार महतोको नेतृत्वमा जसपा ओली सरकारमा सहभागी हुनेछ । जसपाले गृह, संचार, भौतिक पूर्वाधार, अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय मागेको समेत उच्च स्रोतले जानकारी दिएको छ । तर, प्रधानमन्त्री गृह र अर्थ उसलाई दिने पक्षमा छैनन् । 

यसरी जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएसँगै सो दल विभाजनको संघारमा पुगेको छ भने उपेन्द्र यादव पक्ष कांग्रेस र माओवादीसँग मिलेर ओली सरकारलाई हटाउने रणनीति बनाउन बुढानिलकण्ठस्थित कांग्रेस सभापति देउवा निवास पुगेको छ ।