काठमाण्डौ । कम्पनी रजिष्टारको कार्यालयले गरेको त्रुटिले स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले यो वर्ष दिने भनेको लाभांश अन्यौलमा परेको छ । 

यो लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने भनेको २६ प्रतिशत बोनस सेयर अन्यौलमा परेको हो । 

यो लघुवित्त कम्पनीलाई कम्पनी रजिष्टारको कार्यालयले फागुन १३ गते एक पत्र पठाउँदै साबिकको पूँजी संरचना परिवर्तन गर्ने गरी प्रबन्धपत्रको दफा ५(ख) र ५(ग) तथा नियमावलीको नियम २९(१) भएको संसोधनलाई सदर गर्दै पूँजी वृद्धिको स्वीकृति प्रदान गरेको थियो । यो पत्रसँगै लघुवित्तको साबिकको पूँजी ६२ करोड ८८ लाख ८८ हजार ४०० बाट बढेर ७९ करोड २३ लाख ९९ हजार ३८४ पुर्याउन बाटो खुल्ला भएको ठानेर लगानीकर्ता उत्साहित भएका थिए । 

तर, कम्पनी रजिष्टारले यो संस्थालाई फागुन १६ गते नै पत्र कार्यान्वयन नगराइदिने भन्दै अर्को पत्र लेखी कार्यालयले फागुन १३ गते गरेको निर्णयमा भूलवश त्रुटि हुन गएको उल्लेख गरेको छ । नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमीटेड र आन्तरिक राजश्व कार्यालयलाई समेत कम्पनी रजिष्टारले यस्तो पत्र पठाएपछि लगानीकर्ता अन्यौलमा परेका हुन् । 

यो पत्रसँगै स्वाबलम्बनले घोषणा गरेको २६ प्रतिशत बोनस सेयर अन्यौलमा परेको छ । यस्तो अन्यौलमा पारी लगानीकर्ताको सम्पत्तिमाथि खेलवाड भएपछि नेपाल स्टक एक्सचेञ्जले यो कम्पनीको दोश्रो बजार कारोबार तथा सूचिकरण स्थगन गरिदिएको छ । 

यो कार्यले लगानीकर्ताले पाउने २६ प्रतिशत बोनस तोकिएको समयमा पाउने सुनिश्चितता हुने अवस्थामा अन्यौल भई लगानीकर्ताको हित विपरीत भएकोले यो विषयको अन्तिम टुंगो नलागेसम्म स्वाबलम्बन लघुवित्तको सूचिकरण स्थगन गरिएको नेप्सेको प्रष्टोक्ति छ । नेप्सेले स्वाबलम्बनलाई यो विषयमा ३ दिनभित्र स्पष्टीकरण पेश गर्न समेत निर्देशन दिएको छ ।