काठमाण्डौ । रसुवास्थित सान्जेन जलविद्युत कम्पनीको साइट कार्यालयमा आइतबार दिउँसो तोडफोडसँगै आगजनी गरिएको छ। 

आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै स्थानीयले रसुवाको गत्लाङमा रहेको साइट कार्यालयमा तोडफोडसँगै आगजनी गरेका हुन्। यो कम्पनीले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ। हाल दुवै आयोजना निर्माणको अन्तिम चरणमा छन्।

स्थानीयले पाउने १० प्रतिशत सेयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको उनीहरुको आरोप छ। 

२०७६ माघ २९ मै रसुवाका स्थानीयलाई दिने सेयरबारे समझदारी भएको थियो। तर, गत्लाङवासी माथिल्लो तटीय क्षेत्र भन्दै आफूहरुलाई कम सेयर दिन खोजिएको तोडफोड र आगजनीमा उत्रिएको कार्यालयका कर्मचारीहरु बताउँछिन्। हाल कम्पनीले स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको छ। 

स्थानीयले कार्यालयभित्र तोडफोड र आगजनी गर्नुका साथै कार्यालयको गाडीमा समेत क्षति पुर्याएका छन्। 

माथिल्लो सान्जेन २०७४ को साउनसम्म र सान्जेन २०७५ को माघसम्ममा निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको थियो। तर, तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि माथिल्लो सान्जेनको आर्थिक वर्ष २०७७–७८ को अन्त्यसम्म र सान्जेन आर्थिक वर्ष २०७८–७९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो।