काठमाण्डौ । कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएको छ।

विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। उडान दिउँसो ३ बजेबाट बन्द भएको छ। 

उडानका लागि कम्तीमा ८०० मिटरसम्म देखिने हुनुपर्छ। तर अहिले त्योभन्दा न्यून रहेको छ। 

तराईलगायत देशका विभिन्न स्थानका जंगलमा लागेको डढेलोको धुवाँ हावामा मिसिँदा काठमाण्डौ वायुप्रदूषण बढेको छ। यही कारणले काठमाण्डौको आकाश धुँवाले ढाकिँदा उडान प्रभावित भएको बताइएको छ। 

उडान बन्द भएपछि सयौँ यात्रु गन्तव्यमा जान नपाएर विमानस्थलमै अलपत्र परेका छन्।