काठमाण्डौ । आन्तरिक राजश्व विभागले धितोपत्र बिक्री गर्दा लिइने लाभकरका विषयमा थप प्रस्ट पार्न अर्को संशोधित सूचना जारी गर्ने भएको छ।

यसअघि बुधबार विभागले एक सूचना जारी गर्दै धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने प्रस्ट पारेको थियो। तर, उक्त सूचनामा नियमित व्यवसायी नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साबिक बमोजिम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने साविकको व्यवस्थामा कुनै परिवर्तन नभएको प्रस्ट पारिएको थियो। 

यता लगानीकर्ताका नेताहरुसँगको भने नियमित व्यवसायी र पटके कारोबारी भन्नुले झन अन्यौलता बढेको र लगानीकर्ताहरुलाई झुक्याउने र होच्याउने काम गरेको भन्दै बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रिएका थिए। उनीहरुले टीएमएस बन्द गर्न माग गर्दै सेबोन, नेप्से र स्टक ब्रोकर्स एसोसिएसनमा ज्ञापनपत्रसमेत बुझाएका छन्।

यसैबीच नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले बिहीबार राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई भेटेर बुधबारको सूचनाबाट लगानीकर्ताहरु थप अन्यौलमा परेको जानकारी गराएका थिए। 

लगानीकर्ताहरुको भएको छलफलमा महानिर्देशक मैनालीले बुधबारको सूचनामा संशोधन गर्दै पटकेको ठाउँमा प्राकृतिक व्यक्ति राख्ने र सोहीअनुसार अर्को सूचना प्रकाशित गर्ने जानकारी गराएको अध्यक्ष पोख्रेलले जानकारी दिए। ‘उहाँले आज–भोलि नै अर्को सूचना निकालेको यसअघि निकालिएको सूचनामा उल्लेख भएको पटके शब्द हटाएर प्राकृति व्यक्ति राख्ने जानकारी दिनुभएको छ’, उनले भनिन्। 

विभागले यसअघि जारी गरेको सूचनामा भनिएको छ, ‘नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानुनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ताको जानकारीका लागि यो सूचना जारी गरिएको छ।’ 

अब भने पटकेको ठाउँमा प्राकृतिक व्यक्ति राखेर विभागले सूचना जारी गर्नेछ। 

छलफलमा सहभागी अर्का एक लगानीकर्ताले भने, ‘प्राकृति व्यक्ति भन्नाले आमलगानीकर्ता र नियमित व्यवसायी भन्नाले कम्पनी दर्ता गरी धितोपत्र कारोबार गर्ने संस्था वा कम्पनी रहेको पनि महानिर्देशक मैनालीले प्रस्ट पार्नुभएको छ। यसले आमलगानीकर्ताले अब साबिककै पुँजीगत लाभकर तिरे पुग्ने प्रस्ट हुन्छ।’