काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३१ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब १७ करोडमा सीमित थियो । यो हिसाबले बैंकले ११.५३ प्रतिशतले मात्र नाफा बढाएको देखिन्छ ।  सनराइज बैंकले यो अवधिमा ४४ करोड ८६ लाख संभावित जोखिम व्यवस्थापनबाट फिर्ता ल्याएको देखिन्छ ।

बैंकले १ अर्ब ५८ करोडमा समीति संचालन मुनाफालाई बढाएर १ अर्ब ७२ करोडको उचाई चुमाएको छ भने २ अर्ब १९ करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर २ अर्ब ७७ करोडको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा बैंकले ६९ अर्ब ३० करोड निक्षेप संकलन गरी ६० अर्ब ५४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६१ अर्ब निक्षेप संकलन गरी ५१ अर्ब ७३ करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले पनि रिजर्बलाई भने बलियो बनाएको छ । यहीकारण अघिल्लो वर्ष १ अर्ब ३८ करोडमा सीमित रिजर्बको आकार बढी ३ अर्ब ४ करोडको उचाईमा पुगेको छ । 

यो अवधिमा सनराइज बैंकले १.३७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.२८ प्रतिशतमा झार्ने सफलता पाएको छ । 

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ७.४७ प्रतिशत, सीसीडी रेसियो ७५.४७ प्रतिशत, बेस रेट ११.३९ प्रतिशत, इक्वीटीमा प्रतिफल ११.७१ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.५६ प्रतिशत कायम भएको छ । 

बैंकको प्रतिसेयर आम्दानी १६.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.२९गुणा कायम भएको छ ।