– अर्जुन तिमिल्सिना

काठमाण्डौ । गत साताको सेयर बजारलाई समग्र रुपमा अध्ययन गर्दा कारोबार र भोलुमले साथ दिएको देखिन्छ। यसले बजार निकै मजबुत रहेको संकेत गर्छ। 

गत साताभरि सेयर बजारमा ९७ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भयो। यो हिसाबले ५ दिनको कारोबार दिनमा दैनिक औसत १९ अर्ब ५१ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको देखिन्छ। 

अघिल्लो साताको तुलनामा कारोबार र भोलुम दुवै बढेको छ। बजार पुँजीकरण पनि ४४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। 

साताभरि नेप्से परिसूचक भने १.७८ अंकले मात्रै सकारात्मक भएको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

इलिअट  वेभलाई आधारमा विश्लेषण गर्नुपर्दा इन्टरमिडियट डिग्रीको वेभ (५) लगभग ३२५० सम्म पुग्न सक्छ। यदि यहीँबाट तल झर्छ भने त्यो सोही डिग्रीको ए, बी र सी बनाउँदै बजार लगभग २८०० सम्म आउन सक्छ। यो करेक्सनपछि बजार केही समय साइडवेज चलेर पुनः नयाँ डिग्रीको १, २, ३, ४ र ५ बनाउँदै बजार लगभग ३५०० सम्म पुग्न सक्ने सम्भावना उच्च रहेको देखिन्छ । (मुख्य तस्बिर माथि) 

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत भर्खर एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट कटेको छ (हेर्नुहोस् रातो एरो)। यसले बजारमा सामान्य करेक्सनको सम्भावना देखिन्छ। हिस्टोग्रामहरु (कालो एरोले देखाएको) भर्खर नेगेटिभ भएका छन् । यसले बजार केही समय करेक्सन हुन लागेको संकेत गर्छ।

एमएसीडी लाइनका आधारमा समूहगत विश्लेषण

वाणिज्य बैंक समूह

वाणिज्य बैंकको कारोबारले बनाएको रेखाचित्र केही समय पहिला नै एमएसीडी लाइनले सिग्नल लाइनलाई प्रस्ट रुपमा माथिबाट काटेको छ। हिस्टोग्रामहरु पनि नेगेटिभ भएका छन्। यसको अर्थ हुन्छ यो सेक्टरमा बिक्रीचाप हाबी भएको छ। 

विकास बैंक समूह

विकास बैंकको अवस्था प्रस्ट रुपमा अझै पनि बुलिस रहेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। हिस्टोग्रामहरु सकारात्मक रहेका छन्।यसले यो सेक्टरमा खरिदकर्ता हाबी भएका छन् र आउन यो साता पनि उच्च माग रहन सक्छ भन्ने संकेत गर्छ। 

जलविद्युत समूह

जलविद्युतमा अहिले नै बियरिस क्रसओभर भएको छैन तर हुन सक्ने अवस्थामा देखिन्छ । एमएसीडी लाइनले बनाएको रेखाचित्रका आधारमा बियरिस क्रसओभर नभएको तर भविष्यमा हुन सक्ने देखिन्छ। यसले बजारमा बिक्रीचाप पर्न सक्ने संकेत गर्छ।

लघुवित्त समूह 

लघुवित्तलाई विश्लेषण गर्नुपर्दा सिग्नल प्रस्ट बुलिस क्रस ओभर छ। हिस्टोग्राम सकारात्मक छन्। आगामी साता खरिद चाप पर्न सक्छ।

जीवन बीमा समूह

जीवन बीमामा एमएसीडी लाइन वियरिस क्रसओभर भएको छ। हिस्टोग्राम पनि नेगेटिभ भएका छन् तर छोटा–छोटा भएकोले केही समयमा बुलिस क्रस ओभर हुन सक्ने देखिन्छ।

निर्जीवन बीमा समूह

निर्जीवन बीममा पनि जीवन बीमामा जस्तै बियरिस क्रस ओभर रहेको छ। हिस्टोग्राम नेगेटिभ छन् तर विस्तारै खरिदकर्ता हाबी हुँदै गएको र बुलिस क्रस ओभर हुन सक्ने देखिन्छ।

वित्त समूह 

वित्त समूहमा अझै पनि सिग्नल बुलिस क्रस ओभर नै भएको छ। हिस्टोग्राम सकारात्मक नै छन्। यसले यो क्षेत्रमा अझै खरिदचाप पर्न सक्ने देखिन्छ।

होटेल तथा पर्यटन समूह

यो समूहमा बियरिस क्रस ओभर भएको छ। हिस्टोग्राम नेगेटिभ भएका छन्। यसले बिक्रीचाप पर्न सक्ने देखिन्छ।

व्यापार समूह 

व्यापार समूहमा पनि एमएसीडी लाइनअन्तर्गत सिग्नल बियरिस रहेको छ। हिस्टोग्राम नेगेटिभ छन् तर छोटा–छोटा बन्दै गएकोले बुलिस हुन लागेको बुझिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।