काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कर्जाको जोखिम भार १५० पुर्याइएकोले भन्सार नाकामा लामो समयदेखि रोकिएका सवारीसाधन छुटाउन नसकिएको जनाएको छ। 

आज नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट यस्तो समस्या अवगत गराएको हो। नाडा टोलीले भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीसाधनहरु छुटाउनका लागि सहज निकासका लागि आग्रह पनि गरेको छ। 

छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारीसाधनहरुको आयातमा लगाएको प्रतिवन्ध खुलाए पनि आयात प्रतिबन्ध लगाउनुअघिदेखि नै नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारीसाधनहरुको खरिदबिक्रीमा कुनै सुधार हुन नसकेको बताए। ‘यही कारण सवारीसाधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफ्ना सवारीसाधनहरु उठाउन नसकेका हुन्’, उनले भने। 

नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार, जिप र भ्यानजस्ता सवारी साधनहरुको बजार वार्षिक १७–१८ हजार रहेकोमा अहिले त्यो घटेर ७–८ हजारमा झरेको बताए। उनले कुल सवारीसाधनहरुको विक्रीे ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेकोसमेत जानकारी दिए। 

छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्यांकनमा पनि समस्या आइरहेकोले पैठारीकर्ताले पेस गरेको बिल मूल्यलाई मान्यता दिन आग्रह गरे। सन्दर्भ मूल्यसूचीले व्यवसायीहरुलाई धेरै समस्या परिरहेको उल्लेख गर्दै उनले सन्दर्भ मूल्यसूचीलाई खारेज गर्नुपर्ने धारणा राखे। 

छलफलमा महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक–पटक छलफल भइसकेको जानकारी दिए। उनले नेपालका कुन–कुन भन्सार नाकाहरुमा के–कस्ता ब्रान्डका के–कति संख्यामा सवारीसाधन (दुईपांगे्र तथा तीनपांग्रेवाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन्, त्यसको विवरण यथाशीघ्र विभागमा पठाइदिन अनुरोध गगरे। 

महानिर्देशक बुढाले विभागले छिटै मूल्यांकन गोष्ठीको आयोजना गर्न लागेको समेत जानकारी दिए।

छलफलमा नाडाका सचिव विक्रम सिंहानियालगायत कोषाध्यक्ष मिलनबाबु मल्लसमेतको उपस्थिति थियो।