– रेखा चन्द

काठमाण्डौ । कर्जा अपचलन प्रकरणमा मुछिएका कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतले झापाको दमक प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। 

सीईओ बस्नेतले आइतबार इलाका प्रहरी कार्यालय दमकमा आत्मसमर्पण गरेका हुन्। ‘बस्नेतले अहिले हाम्रो हिरासतमा हुनुहुन्छ’, इप्रका दमकका प्रहरी निरीक्षक देवानन्द मिश्रले भने। 

मिश्रका अनुसार बस्नेतमाथि थप अनुसन्धान गर्नका लागि हिरासतमा राख्न उच्च अदालत इलामबाट म्याद थप गरिएको छ। ‘७ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ’, उनले भने। 

बैंकका सीईओ बस्नेतसहित १५ जनाको मिलेमतोमा करोडौँको कर्जा अपचलन भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निर्देशनमा झापाको दमक प्रहरीले केही दिनअघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि यो प्रकरण उत्कर्षमा पुगेको हो।

सीईओ बस्नेतसहित बैंकका कर्मचारीहरुको मिलेमतोमा कमसल धितो (वास्तविक मूल्यांकन १ करोड ४० लाख रुपैयाँमात्रै) राखी दमकमा कुल ८ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह भएको खुलेपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान प्रक्रिया अगाडि बढाउन सीआईबीलाई आग्रह थियो। राष्ट्र बैंककै आग्रहमा सीआईबीले दमक प्रहरीले थप कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो। 

बैंकले दमकस्थित विभिन्न कम्पनीहरुमा उक्त रकमबराबरको कर्जा दिएको थियो। ऋणीहरुले बैंकबाट लिएको कर्जासमेत तिरेका छैनन्। 

इप्रका दमकका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) दिलीप गिरीले केही दिनअघि मात्रै कामना सेवा विकास बैंकका सीईओ बस्नेतसहित १५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिएको बताए। ‘अहिलेसम्म यो प्रकरणमा संलग्न भनिएकामध्ये सीईओसहित ५ जना पक्राउ परिसकेका छन्’, उनले भने, ‘फरार रहेका १० जनाको खोजी भइरहेको छ।’ 

डीएसपी गिरीका अनुसार मधुवन ट्रेडर्स, सञ्जय ट्रेडर्स र बारामती सप्लायर्सलाई कम मूल्यांकन भएका धितो राखी मनोमानी तरिकाले कर्जा प्रवाह गरिएको पाइएको छ। ‘यो प्रकरणमा ती १५ जनाबाहेक अन्यको पनि संलगन हुन सक्छ’, उनले भने, ‘त्यसैले थप अनुसन्धान गरिरहेका छौँ।’ 

राष्ट्र बैंकको अनुसन्धानले पनि सम्पत्तिको मूल्यांकनकर्ता, बैंकका सीईओ र कर्मचारीहरु मिलेर कर्जा अपचलन भएको देखाएको छ। 

दमक प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै कामना सेवा विकास बैंकको सञ्चालक समितिको बैठकले बैंकको सीईओ पदबाट बस्नेतलाई हटाएको थियो। सोही बैठकले बैंकको माघ १५ गतेबाट लागू हुने गरी कामु सीईओको जिम्मेवारी विनय दाहाललाई दिएको छ।