काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधि चलायमान भएसँगै कर्जाको माग ह्वात्तै बढेको र यो गति कायम रहे केही समय पछाडिदेखि नै तरलता अभावको समस्या आउनसक्ने विश्लेषण गरेका छन् । 

चालु आर्थिक वर्षका लागि सार्वजनिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने क्रममा उनले यस्तो विश्लेषण गरेका हुन् । 

अहिले पनि बैंकिंग प्रणालीमा पर्याप्त तरलता रहे पनि साउनदेखि मंसिर १७ सम्मको तथ्यांक हेर्दा कर्जाको माग ह्वात्तै बढेको र यसले निकट भविष्यमै तरलता अभावको समस्या आउनसक्ने संकेत गरेको बताए । 

'साउन १ गतेदेखि मंसिर १७ गतेसम्मको अवधिमा २१९ अर्ब निक्षेप संकलन भएको छ भने २०२ अर्बको कर्जा प्रवाह भएको छ ।' गभर्नर अधिकारीले भने:-'कर्जा प्रवाहको अवस्था निराशाजनक छैन । यसले अहिले भएको तरलता भोलिको दिनमा पर्याप्त नहुनसक्छ भन्ने देखिएको छ ।' 

उनले कोभिडको प्रभाव बिस्तारै कम हुँदै जाँदा लगानी बढ्दै गएको र लगानीकर्ताको मनोलब पनि बढिरहेको दाबी गरे । 

उनले कर्जा प्रवाहको गति राम्रो रहे पनि प्रवाह भएका कर्जाको केन्द्रीय बैंकले निरन्तर अनुगमन गरिरहेको समेत बताए । 

उनले कर्जाको ब्याजदरसँगै निक्षेपको ब्याजदर पनि घटेर न्यून विन्दूमा पुगेको र अहिलेको निक्षेपको ब्याजदरका कारण निक्षेपकर्ता अन्यायमा परेका समेत बताए । 'हाम्रा प्रयास र कामना निक्षेपकर्तालाई अन्याय नहोस् भन्नेमा केन्द्रीत हुनेछ ।' गभर्नर अधिकारीले भने-'अबको दिनमा कर्जाको ब्याजदर मात्र होइन, निक्षेपको ब्याजदर पनि एउटा सीमा राखिनेछ, रहन्छ ।' 

उनले तरलता पर्याप्त हुनु देशका लागि राम्रो रहेको र यो पनि यदि थिएन भने कोभिडका कारण थिलथिलो भएको अर्थतन्त्र यति चाँडै चलायमान हुन गाह्रो पर्ने विश्लेषण समेत सुनाए ।