काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप र कर्जा लगानी बढेको छ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको भदौ १२ गतेदेखि भदौ १८ गतेसम्म तथ्यांकअनुसार राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.४ प्रतिशतले बढेको छ। गत भदौ ११ गतेसम्म कुल निक्षेप ४ खर्ब १४ अर्ब रुपैयाँ रहेकोमा भदौ १८ गतेसम्म बढेर ४ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यस हिसाबले एक सातामै विकास बैंकहरुले १ अर्ब ६६ करोड रुपैयाँले निक्षेप बढाएका छन्।

यसैगरी राष्ट्रियस्तरका विकास बैंकहरुको कर्जा लगानी एक सातामै ३ अर्ब ३७ करोड रुपैयाँले बढेको छ। जुन अघिल्लो साताको तुलनामा ०.९३ प्रतिशतले बढी हो। भदौ ११ गतेसम्म ३ खर्ब ६२ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी भदौ १८ गतेसम्म बढेर ३ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। 

यो अवधिमा क्षेत्रीयस्तरका विकास बैंकहरुको कुल निक्षेप ०.३५ प्रतिशतले घटेर ७२ अर्ब १७ करोड रुपैयाँमा झरेको छ। अघिल्लो साता कुल निक्षेप ७२ अर्ब ४२ करोड रुपैयाँ थियो। 

यसैगरी क्षेत्रीयस्तरका विकास बैंकको कुल कर्जा लगानी भने ०.५४ प्रतिशतले बढेको देखिन्छ। भदौ ११ गतेसम्म ६६ अर्ब ८० करोड रुपैयाँ रहेको रहेको कुल कर्जा लगानी बढेर ६७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।