काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज फागुन १३ गते अन्तिम मौका रहेको छ। 

बैंकले गत माघ ७ गतेबाट चुक्तापुँजी २० करोड रुपैयाँको १ः.१.५ अनुपातमा हकप्रद जारी गरेको हो। बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। 

यो हकप्रदमा सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। मेरो सेयर पोर्टलबाट यो हकप्रदमा आवेदन दिन पाइनेछ। 

हकप्रद निष्कासन प्रयोजनार्थ बैंकले गत पुस २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको अर्थ गत पुस २५ गतेसम्म कायम सेयरधनीहरुले मात्र यो हकप्रदमा आवेदन दिन पाउँछन्। 

यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत पुस १ गते निष्कासन अनुमति दिएको थियो।