काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकले आज चैत १६ गतेबाट अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ।

बैंकले गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म हकप्रद बिक्री गरेको थियो। त्यतिबेला बिक्री नभएको सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता सेयर बैंकले लिलामीमा राखेको हो। 

लिलामीमा राखिएको सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्यामा कुनै हद लाग्ने छैन।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र सिभिल क्यापिटल मार्केट लिमिटेडको काठमाण्डौ सुन्धारास्थित कार्यालयमा पेस गर्न सकिनेछ। त्यस्तै सिभिलका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, सुर्खेत, नेपालगन्ज र धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकको रजिस्टर्ड कार्यालय तथा शाखाहरु वीरगन्जको आदर्शनगर, वीरगन्जको ड्राइपोर्ट, वीरगन्जको चोर्नी र वीरगन्जको बसपार्कबाट पनि आवेदन पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति चैत २४ गते बैंकिङ समयसम्म तोकिएको छ।