काठमाण्डौ । करदाताहरूले आन्तरिक राजश्व कार्यालयहरूको राजश्व इसेवादेखि नै दाखिला (भुक्तानी) गर्न सक्ने भएका छन् । 

अबदेखि करदाताले आन्तरिक राजश्व विभाग अन्तरगतका कुनै पनि राजश्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवाशुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो । 

इसेवामा यो सेवा उपलब्ध भएसँगै राजश्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

इसेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सकिने छ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ । 

इसेवामार्फत कर भुक्तानी गर्न सकिने सुविधाबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उद्देश्य राखेको थियो । सरकारको यो नीतिलाई हामीले कार्यान्वयन गर्ने अभियानमा छौं । यसै सम्बन्धमा सबै सरकारी कार्यालयको भुक्तानीलाई पनि डिजिटल भुक्तानीको माध्यममा जोड्दै नगदरहित अभियानलाई अगाडि बढाएका छौं । हाम्रो देशभर रहेको एजेन्ट नेटवर्कमार्फत देशको जुनसुकै कुनाबाट कर तिर्न मिल्ने व्यवस्था गरिएको छ । यसबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिल्नेछ भन्ने विश्वास लिएका छौं ।’ 

हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध भए पनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको भनाई रहेको छ ।  

इसेवामार्फत कर तिर्नका लागि सर्बप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ । त्यसपछि करदाताको पोर्टलमा गई बायाँतर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्स्पेयर लगइनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखी पेमेन्ट भौचरमा क्लिक गर्नुपर्नेछ । त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखी आफूले बुझाउन चाहेको करको प्रकार, राजश्व शीर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ । सोही गरिसकेपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ । उक्त ट्रान्जेक्सन कोड टिपेपछि इसेवामा क्लिक गरी इसेवाको वेभसाइट खोल्नु पर्नेछ । त्यसपछि फाइनान्सियल कम्प्ट्रोलर जनरल अफिसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफूले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिनेछ । आफूले भुक्तानी गरिसकेपछि राजश्व कार्यालयको वेभसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पूरा भएको भनेर देखिनेछ । 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।