बैंंकर अनलराज भट्टराईको परिवारमा एकैचोटि ८ जनालाई कोरोना पोजेटिभ देखियो । यो गएको साउन २६ गतेको कुरा हो । आज भदौ १३ गते, शनिबार । उनीसहित उनको परिवारका ७ जना संक्रमित आज कोरोनामुक्त भइसकेका छन् । 

यतिखेर उपत्यकामा निषेधाज्ञा छ । कोरोना संक्रमणको जोखिमलाई कम गर्न यसो गरिएको हो भनिएको छ । तर कसरी कम गर्न सकिन्छ त जोखिम ?

कसरी जित्न सकिन्छ कोभिड १९ लाई ? केके छन् त अप्ठेरा, चुनौती ? र, तिनलाई कसरी पन्छाएरै गर्न सकिन्छ जीवनरक्षा ? भट्टराई परिवारले कसरी जित्यो त कोरोनासँगको युद्ध ?

यस्तै प्रश्नहरुको सेरोफेरोमा आधारित भट्टराईको त्रास, आश र उत्साह अनुभूतिः

त्रास
समग्र नेपालीको मनमा अहिले संक्रमणको त्रास छ । हामीलाई पनि कहाँनिर संक्रमण हुने हो भन्ने नै त्रास थियो । 

सुरुमा मेरो ससुराबालाई ज्वरो आयो । भोलिपल्टै ठीक भयो । त्यसको तीन दिनपछि फेरि ज्वरो आयो । अनि घरमै चिकित्सक बोलाएर उपचार गरायौं । यूरिन इन्फेक्सन देखियो । औषधोपचार गर्दै थियौं ।

बुवाको आरडिटी टेष्टमा नेगेटिभ देखियो । हामी मास्क लगाएरै बसेका थियौं स्यानीटाइजर प्रयोग गर्दैै ।

पछि श्वासप्रश्वासमा अलिक समस्या देखिएपछि हामीले उहाँलाई अस्पताल लग्यौं ।

उहाँको पीसीआर टेष्ट गराएको भोलिपल्ट रिपोर्ट आयो । रिपोर्टमा पोजेटिभ हो कि भन्ने आयो । अनि हामी सबैजना तत्काल आइसोलेसनमा बस्यौं, घरमै ।

रिपोर्ट भेरिफाइ भएर नआउँदा एक किसिमको मानसिक दवाब हुने रहेछ ।

२६ गते ११ बजे टेकुबाट रिपोर्ट भेरिफाइ भएर आयो । पोजेटिभ नै हो भन्ने पक्का भयो । तर १० बजे नै उहाँको डेथ भइसकेको थियो ।

उहाँ ७६ वर्षको हुनुहुन्थ्यो । दिनमा कम्तीमा पनि बिहान आधाघण्टा र बेलुका आधा घण्टा हिँड्नुहुन्थ्यो उहाँ । तर, उहाँको शरीरमा मधुमेह थियो ।

संक्रमण हुँदाको लक्षण हामीले बुझेजस्तो देखिएन । यूरिन र ब्लड कल्चर गर्दा इन्फेक्सन देखिएको थियो । कोभिड १९ कै क्रममा यो हुने रहेछ ।

कसैलाई कुनै त कसैलाई कुनै लक्षण देखिने रहेछ । 

कसरी संक्रमण भयो भनेर चाहिँ अनुमान गर्नै सकिएको छैन । परिवारभित्रै पनि कोही संक्रमित कोही चाहिँ मुक्त अवस्थामा कसरी भयो होला ।

यो त एउटा रहस्यमय रोग लाग्यो । कसरी सर्छ भन्ने नि थाहा भएन ।

म झन् ससुरा बुवाको नजिकै थिएँ । अस्पतालमा कुरुवा बस्थेँ । तर मलाई संक्रमण देखएिन । म चाहिँ के गर्थेँ भने, गार्गल गरिरहन्थेँ दिनमा चारपटक । स्यानिटाइजर र मास्कको प्रयोग गर्थेँ । बस्न त हामी सँगै बसेका थियौं र पनि नेगेटिभ देखाउनुमा मैले अपनाएको सुरक्षा हो कि जस्तो पनि लाग्छ ।

हामीमाथि बज्रपात नै पर्यो । हामी पीडामा थियौं । 

मानसिक हिसाबले हामीलाई दुवै किसिमको तनाव भयो । एउटा शोक, नजिकको अभिभावक गुमायौं । अर्को हामीलाई पनि संक्रमण छ कि ? अब के हुने होला ? भन्ने त्रास । दिमागी हालत ठीक नहुने स्थिति थियो ।

तर हामीले, अब कसरी अगाडि बढ्ने त भनेर निराश नभई काम गर्न तयार भयौं ।

मृतकको सबै व्यवस्थापनको सेनाको टिमले गर्ने रहेछ ।

छरछिमेकी नातागोताहरु आउन चाहनेहरुलाई पनि हामीले रोक्यौं । नआउनूस् भन्यौं । हामी त एक्स्पोज नै भएका थियौं । त्यसैले हामी  १० जना थियौं घाटमा ।

त्यहाँ आउनुभएकालाई पनि धेरै कुरा नगरी घर पठायौं । डर थियो नि त मनमा, के हुने हो भन्ने । सुरक्षित रहन त सघाउनै पर्ने थियो ।

हामी ११ जनामा ७ जनाको रिपोर्ट पोजेटिभ आयो । ससुरालीमा ४ जना, मेरो घरमा २ जना र अर्को एक जनासहित ७ जना । हाम्रो घर ५० मिटरको दुरीमा छ । 

कोभिडको लक्षण त केही पनि देखाएको थिएन । तर पनि हामी पूरै आइसोलेसनमा बस्यौं । 

कसैलाई पनि संक्रमण हुन नदिने गरी, बाहिरको कसैलाई पनि घरमा आउन दिएनौं हामीले । हेल्प गर्छु भन्नेलाई पनि आउन निरुत्साहित गर्यौं ।

काजकिरियाका लागि सामानको जुगाड गर्न मुश्किल परेको थियो । तर रिपोर्ट नेगेटिभ देखाएको ४ जनामध्येबाट बन्दोबस्त गर्न सहज भयो ।

मेरो त रिपोर्ट नेगेटिभ नै थियो । र पनि, संक्रमण त कहाँ हुन्छ थाहा हुँदैन । अनि म पनि २० दिन आइसोलेसनमा बसेँ ।

आश
संक्रमण भइसकेपछि अब रक बटनमा पुगेको आभाष भयो । अनि आशका कुरा मात्र गर्न थाल्यौं ।

कुनै पनि रोग कसैले अपराध गरेर, अनैतिक काम गरेर, कसैलाई दुव्र्यवहार गरेर लाग्ने होइन । त्यसैले कसैले पनि यसलाई लुकाउनुपर्ने आवश्यक नै छैन ।  

हाम्रो समाजमा चाहिँ लुकाउने चलन थियो, मैले चाहिँ बताउनुपर्छ भनेँ । यो त जसलाई पनि हुनसक्छ, फरवार्ड अप्रोचमा जानुपर्छ भनेर मैले बोल्न थालेँ ।

युट्युवमा पनि मेरो भर्सन राखेको छु । सामाजिक सञ्जालमा लेखिरा’छु पनि । सायद म पहिलो व्यक्ति हुँला यसरी कोरोना संक्रमण भएपछिको कुरामा ओपन अप भएको, हामी छौं भनेर कुरा गरेको ।

आफ्नो तर्फबाट मात्र हैन अरुका तर्फबाट पनि सोच्नुपर्छ । मैले चाहिँ हिम्मत गरेको हुँ, अरुलाई प्रेरणा होस्, हौसला होस् भनेर ।

मलाई आफन्त र साथीहरुबाट आएको सकारात्मक प्रतिक्रियाले चाहिँ म दंग परेँ । समाजमा जुन त्रास छ, त्यसलाई शुभकामनाहरुले जित्यो।

हामीले गरेको दुईवटा मुख्य काम हुन् । एक शारीरिक तन्दुरुस्ती बढाउने र अर्को मानसिक रुपमा बलियो हुने ।

शारीरिक तन्दुरुस्तीका लागि हामीले केही काम गर्यौं ।

मल्टीभिटामिन, जिंक, भिटामिन सी र ई गरी चार ट्याब्लेट प्रत्येक दिन एकएकवटा खायौं । हप्तामा एकचोटि भिटामिन डी खायौं ।

घाटीका लागि कुल्ला गर्यौं । पहेँलो रङ्को गार्गल गर्ने बेटाडिनले । पानी मिसाएर दिनमा कम्तीमा ३ पटक । बिहान उठ्नेवित्तिकै, खानेकुरा खानुभन्दा १५ मिनेट अगाडि ।

दिनभरिमा करीब चार लिटर मनतातो पानी पियौं । पानी ल्याउन गाह्रो हुन्छ भनेर एकैपटक ल्याएर राख्थ्यौं ।

बेसारमा ज्वानो, गुर्जु, तुलसीको पत्ता र मह लगाएर राम्रोसँग पानीमा पकाएर दिनमा तीन चोटि नियमित खायौं ।

४ घण्टाको अन्तरालमा शरीरको तापक्रम मापन गरिरहने काम गर्यौं । आफ्नै शरीर हो भन्दै नापिरहन्थ्यौं । ज्वरो बढ्छ कि भनेर डर हुन्थ्यो अनि जब ठीक डिग्री आउँथ्यो अनि कन्फिडेन्स लेवल बढेर आउँथ्यो ।

अनि अर्को चाहिँ अक्सिजन लेवल नाप्ने काम हुन्थ्यो । अक्सिमिटरबाट । यो सबैका लागि सहज पहुँचमा नहुनसक्छ । अलिक महंगो पर्छ । हामीले चाहिँ अनलाइनबाट मगायौं ।

यसमा पहिलोपटक नापेको रेकर्डमा अर्को दिन ३ प्रतिशत घट्यो भने तुरुन्त डाक्टरकोमा जानुपर्ने थियो ।

सुरुको दिनमा डर लाग्यो, नाप्न पनि सकेनौं । अनि भोलिपल्ट बिहानै नाप्यौं । यसरी मनलाई बलियो बनाउन हरप्रयास गर्यौं । श्वासमा पनि समस्या देखाएन ।

आफूलाई इन्गेज गर्न विभिन्न कुरामा लाग्यौं । कसैले फोनमा आफन्त साथीभाइसँग कुरा गर्ने, कोही टेलिभिजन हेर्ने, सिरिज हेर्ने । आआफ्नो रुचिअनुसारका काममा लाग्यौं ।

हामीले कोभिड १९ को बारेमा संसारभरका पोजेटिभ समाचार मात्र खोजेर हेर्यौं । नेगेटिभ मेसेज दिने केही पनि हेरेनौं । पढेनौं । 

त्यसले पनि आत्मबल बढाउन सघायो ।

म पहिले पेन्टिङ् गर्थेँ । कोठामा एक्लै बसेर त्यो काम गर्न थालेँ । मैले १५ वटा बनाएछु । दिनमा तीनचार घण्टा त्यसमै व्यस्त हुन्थेँ । फोटो खिचेर फेसबुकमा राखेको छु मेरा काम । आफैंले आफ्नो कामको भिडियो खिचेर यूट्युवमा अप्लोड गरेँ ।

यसरी अघि बढ्दा हामी मानसिक रुपमा दह्रो बन्दै गयौं । त्रासलाई हटाउँदै आशको भागलाई बढाउन लाग्यौं । कुनै पनि दिन ९८ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो हुन दिएनौं हामीले ।

न रुघा, न खोकी, न कुनै लक्षण । केही पनि देखिएन । त्यही नै जीत थियो हाम्रो लागि । 

हामी सातै जना होम क्वारेन्टाइनमा बसेका थियौं । हामीलाई त्यस्तो धेरै अप्ठेरो महसुस हुन पाएन । पसलका सामान ढोकामा ल्याएर राखिदिन्थे । प्रत्येक फ्लोरमा बाथरुम थियो । तला तलाबाट सामान लिने लैजाने सिस्टम बनाएका थियौं ।

कौसीमा डिस्पोज गर्ने सामान राख्न ठाउँ बनाएका थियौं । सबै प्लास्टिकका भाँडा प्रयोग गथ्र्यौं । पुनः प्रयोग गर्नु नपरोस् भनेर ।

यो पछिल्लो लकडाउनको ३ दिन अवधिमा चाहिँ हामीले प्लास्टिकको प्लेट पाउन सकेनौं । किन्न पनि पाएनौं । हामीले घरमै भएका भाँडा एकपटक मात्र प्रयोग गर्ने गरी चलायौं ।

सरकारले पनि यस्तो बेलामा कनेक्सन टुटाउने सामाग्री उपलब्ध हुने अवस्था बनाउनुपर्ने देखिन्छ । 

भर्याङको आधासम्म खानेकुरा ल्याइराखिएको हुन्थ्यो । एक तलाकोले अर्को तलासम्म पुर्याइदिने गरिएको थियो । खानेकुराका भाँडालाई पहिले हामी स्यानिटाइज गथ्र्यौं अनि मात्र त्यसमा राखिएको खाना खान्थ्यौं ।

प्रत्येकचोटि बाहिरबाट सामान आउनेबित्तिकै स्प्रे स्यानिटाइज खुब गर्यौं । चेन ब्रेक गर्ने प्रोटोकल हामीले राम्ररी मेन्टेन गरेका थियौं ।

एकले अर्कोलाई नदेख्ने गरी हामीले आइसोलेसनको व्यवस्था मिलाएका थियौं ।

कोठामा चाहिँ हावा प्रशस्त चल्ने गरी झ्याल ढोका खोल्नुपर्छ । वायु मज्जाले चल्ने होस् तर चिसो चाहिँ पटक्कै नखाने । मनतातो पानी मात्र पिउने । त्यसैले पानी तताउने भाँडो पनि प्रत्येकलाई व्यवस्था गरेका थियौं ।

यो अवस्थामा पनि कसैलाई कुनै किसिमको त्रास भएन । संसारमा सोच्न अनेक कुरा छन् । कोरोनाको त्रासबारे किन सोच्नु र ?

हरेक रात सुत्नेबेलामा एउटा सोच चाहिँ आउँथ्यो, अब के हुन्छ कसो हुन्छ भन्ने भावको । तर त्यो बेलामा सोच्थेँ, भोलि राम्रो बिहान आउँछ, सबै राम्रो हुन्छ । र, सुत्थेँ ।

उत्साह
अब त त्रास शून्य छ । आश गर्नुपर्ने केही बाँकी रहेन ।

अब हामी सक्छौं भन्ने उत्साह मात्र छ ।

एक दर्जन सदस्यसँगै एउटै घरमा बसेर पनि कोभिडलाई जित्न सकिने रहेछ । म केहीसँग लडिरहेको छु भन्ने चाहिँ हुनुपर्छ ।

अब चाहिँ एकदम सुरक्षित हुनुपर्ने, बच्नका लागि सम्पूर्ण उपाय अपनाउनुपर्ने अवस्थामा छौं ।

उत्साहमा हुँदा म हैन मेरो शरीर हो भन्ने सोच्नुपर्छ । शरीरलाई मैले बचाउन नाक बन्द गर्नुपर्ने, मास्क लगाउनुपर्ने, हातले आँखामुखनाक नछुनुपर्ने कुरामा विशेष ख्याल गर्नुपर्छ ।

कोभिडले शरीर खोज्छ, यसले कसैलाई चिन्दैन । शरीर बचे म बच्छु भन्ने भावना र म शरीरलाई बचाउन सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ ।
शरीरलाई ‘म’को घमण्डबाट बचाउनुपर्छ ।

शरीर प्लास्टिकको सामान होइन काँचको सामान हो । यो फुट्नसक्छ । त्यसैले म फलानो हुँ मलाई केही गर्न सक्दैन भनेर सोच्नु हुँदैन । 

आत्तिनुपर्ने होइन सतर्क हुनुपर्ने हो । कोभिड छ कि भन्ने आशंका लागेमा टेष्ट गर्नुपर्छ ।

अस्पताल जाने र ? अरु नै होला भन्ने कुरामा अल्झिनु हुन्न रहेछ ।

सबैले टेष्ट गराउनसक्ने अवस्था छैन । आर्थिक कारण । सरकारले बुझ्नुपर्ने के हो भने, अहिलेको अवस्थामा सडक बनाउने भनेकै जनता बचाउने हो ।

जनता नै भएनन् भने सडकमा को हिँड्ने ? त्यसैले अस्पताल थप्नुपर्यो, स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नुपर्यो । कुनै पनि हालतमा स्वास्थ्यकर्मीलाई निरुत्साहन गर्नुभएन ।

डाक्टरको घरमा पनि संक्रमितको घर भनेर लेखिएको भन्ने सुनेर चाहिँ मलाई एकदम दुःख लागेको थियो । हामी गौरवशाली नेपाली होइन रहेछौं । खराब मानसिकता प्रस्तुत भएका कारण हामी त धेरै पिछडिएका रहेछौं भन्ने बोधले धेरै पीडा भयो त्यसबेला । 

सबैलाई म के अनुरोध गर्छुु भने टेष्ट गर्ने, आइसोलेसनमा बसिहाल्ने, नडराउने तर रिपोर्ट नआउञ्जेल कतै नहिँड्ने कुरामा आफू प्रष्ट हुनुपर्छ । अरुलाई संक्रमण हुनबाट जोगाउन हामी स्वयम् संयमित हुनुपर्छ । 

मनोबल उच्च भयो भने कोभिड १९ शतप्रतिशत निको पार्न सकिन्छ । यसका लागि सकारात्मक सन्देश प्रवाह गरौं ।

प्रस्तुतिः नरेन्द्रकुमार नगरकोटी