काठमाण्डौ । सेयर बजारको अस्थिरताबाट हरेक लगानीकर्ता डराउँछन् । सेयर बजार यस्तो ठाउँ हो, जहाँ आउने प्रत्येक घण्टामा हाम्रो लगानीले लाभ दिन्छ वा घाटा भन्ने थाहा हुँदैन । तर, यस्ता अनिश्चितता र उतारचढावका अनेकन कारणहरु हुन्छन्, यी कारणलाई बुझ्न आवश्यक हुन्छ । 

यस्ता कारणहरुको सटीक ढंगले अनुमान लगाउन समेत सकिन्न । यदि तपाई बजारमा आउने उतारचढावको सही आँकलन गरी लाभ उठाउन चाहनुहुन्छ भने तपाईले यसका लागि लामो अवधिको लगानी रणनीति अपनाउनुपर्ने हुन्छ । 

उसो भए बजारको अवस्था अस्थिर हुँदा कस्तो रणनीति अपनाउने त ? के के कुरामा ध्यान दिने ? हेरौं केही बुँदा:

अस्थिर बजारलाई चिन्नू
सेयर बजारको अस्थिरतासँग यदि तपाई लड्न चाहनुहुन्छ भने पहिला यसलाई चिन्न सिक्नुपर्छ । अनि मात्र तपाई अगाडि बढ्नका लागि सही तरिका र उपाय तय गर्न सिक्नुहुन्छ । सबैभन्दा पहिला महत्वपूर्ण कुरा भनेको अस्थिर बजारको दुई प्रमुख विशेषता हुन्छन्, एक: सेयरमूल्यमा धेरै ठूलो उतारचढाव र अर्को: धेरै कारोबार । आम रुपमा कारोबार आदेशमा असन्तुलनको अवस्था देखिन्छ । यस्तो बजारको सुरुवाती आँकलन दैनिक कारोबार, सर्ट सेलर्सको अवस्था र संस्थागत लगानीकर्ताको गतिविधिबाट पनि थाहा पाउन सकिन्छ । 

थप लगानी गर्नबाट बच्नुहोस्
अस्थिरतालाई ह्याण्डल गर्ने एउटा सही रणनीति हो: यस्तो बेलामा कारोबार गर्नबाट बच्नु । कम मूल्यको बजार लगानीको सही संकेत होइन । कम मूल्यको सेयरमा तेजी आउँछ भन्ने कुराको कुनै ग्यारेण्टी हुँदैन । कतिपय अवस्थामा तपाईले यस्तो बेलामा गरेको लगानीले घाटा मात्र दिन्छ । यस्तो अवस्थामा कुनै पनि सेयरको ट्रयाक रेकर्ड तथा योसँग जोडिएका हरेक कुराहरुको सावधानीपूर्वक विश्लेषण गर्नुहोस् । आम्दानी, डेट टू इक्वीटीको अनुपात तथा भविष्यको क्षमता जस्ता महत्वपूर्ण विषयलाई विश्लेषण गर्न सक्नुपर्छ । यो विश्लेषणले कुनै पनि सेयरमा अस्थिरता हुनसक्छ कि सक्दैन भन्ने पत्ता लगाउन सकिन्छ । यस्तो रणनीतिले खराब समयमा खराब सेयरमा लगानी गर्नबाट बचाउँछ । 

बजारमा प्रवेश र बाहिरिने क्रमबाट बच्नुहोस्
एक अस्थिर बजारको शिकार बन्नबाट बच्ने अर्को तरिका हो तपाईको सही समयमा बजारको प्रवेश र सही समयमा बजारबाट बाहिरिने रणनीति ।

अनुभवी लगानीकर्ताका लागि समेत बजारमा सही समयको छनौट गर्नु चुनौतिपूर्ण हुन्छ । सुरुवातमा तपाईले कुनै पनि निर्णय हडबडाएर वा हतारोमा लिनुहुन्न । लगानीको सुरक्षाका लागि आफ्नो सेयर धेरै हतारोमा बेच्नुहुन्न । 

भावनाबाट जोगिनू 
सेयर बजारमा गिरावट भएपछि लगानीकर्ता भावुक भइदिन्छन् र उनीहरुलाई लाग्छ मैले मेरो सम्पत्ति गुमाएँ । तर, यो कुरा ध्यान दिनुहोस् कि तपाईले जबसम्म कुनै पनि सेयर बेच्नुहुन्न, तपाईको एक पैसा पनि कम भएको हुँदैन । जबसम्म बिक्रीको प्रक्रिया पूरा हुँदैन तबसम्म तपाईको पैसा(लगानी) कागजमा मात्रै घटेको हुन्छ । यसकै कारण तपाईले डराएर सेयर बिक्री गर्ने र समयभन्दा पहिला नै बजारबाट बाहिर निस्किने प्रवृतिबाट बच्नुपर्छ । 

पोर्टफोलियोमा विविधता
पोर्टफोलियोमा विविधता पनि कुनै फूल प्रूफ उपाय भने होइन । किनभने यो रणनीतिले पनि प्रत्येक पटक मुनाफाको ग्यारेण्टी गर्दैन् । तर, यसको एउटा महत्वपूर्ण लाभ चाहिँ के हो भने लगानीमा विविधता ल्याउँदा यसले अस्थिर बेलामा पनि तपाईको पोर्टफोलियोमा नेगेटिभ प्रभाव कम हुन्छ ।

पोर्टफोलियोमा विविधता बनाउन विभिन्न सेक्टरका सेयरमा लगानी गर्ने रणनीति अपनाउनुस् । 

विज्ञ, अग्रजलाई पछ्याउनुस्
बजारलाई बुझ्नका लागि पर्याप्त समय दिनुहोस् र भावनामा बगेर कुनै हतारो नगर्नुहोस् । तपाईलाई कुनै कन्फ्यूजन भयो भने विश्वासिला सिनियर, तपाई निकटको कुनै विज्ञ वा लगानी परामर्श सेवा दिने कुनै व्यवसायिक फर्म वा विज्ञको सल्लाह पनि लिन सक्नुहुन्छ । पछिल्लो समय व्यवसायिक ढंगले संचालित विजिनेश न्यूज पोर्टलहरुले पनि यस्ता जानकारी, तपाईका कन्फ्यूजन हटाउने काम गर्दै आएका छन्, यस्ता पोर्टलहरुलाई पनि पछ्याउने गर्नुहोस् । 

तपाईको उमेर जति थोरै छ, त्यति नै तपाईसँग जोखिम सहने क्षमता अधिक हुन्छ भन्ने ठान्नुपर्छ । किनभने यदि तपाई युवा हो भने तपाईसँग अधिक समय छ । यदि तपाई ६० वर्ष वा माथिको उमेरको हुनुहुन्छ भने पूँजीलाई जोगाइराख्नु तपाईका लागि प्राथमिकता हुनसक्छ, किनभने तपाईको यो उमेर रिटायर हुने उमेर हो । 

निश्कर्षमा, लगानीकर्ताहरुले अस्थिर बजारको संभावित जोखिमको विषयमा गहिरो नजर राख्नुपर्छ र सावधान बन्नुपर्छ । यदि तपाईले राम्रो विश्लेषण गर्नुभएको छ, राम्रो अध्ययन गर्नुभएको छ र आफ्नो रणनीतिमा प्रष्ट हुनुहुन्छ भने यस्तो बेलामा पनि लगानी गर्न सकिन्छ । सही रणनीति, आउने समयका लागि पर्याप्त तयारी र आश्चर्यचकित गर्ने कुनै संभावित घटनाबाट हुनसक्ने उतारचढावबाट बच्नसक्ने क्षमताले नै तपाईलाई सेयर बजारमा सफल लगानीकर्ता बनाउनेछ ।