– रेखा चन्द

काठमाण्डौ । चालु आर्थिक वर्षको सुरुआतदेखि बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण सुखद रहेन। अर्थतन्त्र चलायमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुका वित्तीय सूचकहरु पनि निरन्तर खुम्चिदै आइरहेका छन्। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमाभन्दा पनि दोस्रो त्रैमासमा बैंकहरुले दबाब भोग्नुपर्यो। बैंक तथा वित्तीय संस्थाहरुले न त ऋणीबाट कर्जा उठाउन सके ब्याजदर उच्च रहेकाले न त अन्य विजनेश नै गर्न सके। 

त्यसकारण दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाका वित्तीय सूचकहरु प्रभावित बने। अधिकांशको नाफा खुम्चिन पुग्यो। धेरैको खराब कर्जाको सीमा बढ्यो भने सञ्चालन मुनाफा हुँदै आएकोमा त्यो घाटा पनि वित्तीय क्षेत्रले सामना गर्नुपरिरहेको छ। 

यस्तै अधिकांशको खुद ब्याज आम्दानीमा गिरावट आएको प्रतिसेयर आम्दानीमा पनि खासै प्रगति हुन सकेको थिए। अर्कोतर्फ अधिकाशं संस्थाहरुले नाफाका ठाउँमा घाटा नै व्यहोर्नुपरेको थियो।

बैंक तथा वित्तीय संस्थाका ऋणीहरुले कर्जा तिर्न नसक्दा पछिल्लो समय कर्जा सूचना केन्द्रमा पर्ने ऋणीहरुको संख्यामा हवात्तै बढिरहेको छ भने वित्तीय संस्थाहरु पनि थप दबाबमा परिरहेका छन्। अर्थतन्त्र चलायनमान हुन नसकिरहेका बीचमा लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको देशव्यापी समस्याले तेस्रो त्रैमासको वित्तीय विवरण थप प्रभावित हुने निश्चितप्राय देखिएको छ। कर्जाको मिनाहको अभियान चलिरहँदा समग्र वित्तीय प्रणालीमा त्यसको असर पर्ने देखिएको होे। यद्यपि नियामकदेखि सम्बन्धित संस्थाहरुले वित्तीय अराजकता नमच्चाउन र लगेको कर्जा तिर्नुपर्ने भन्दै आग्रह गर्दै आएका छन्। 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश लघुवित्तहरुको नाफामा गिरावट आएको थियो भने झन्डै १ दर्जनले घाटा व्यहोरेका थिए। सार्वजनिक तथ्यांकअनुसार झन्डै १ दर्जन लघुवित्तले मात्रै नाफा आर्जन गरेका थिए। तर, तेस्रो त्रैमासमा लघुवित्तहरुले झनै खराब वित्तीय अवस्था प्रदर्शन गर्ने पक्कापक्की भइसकेको छ। किनकि अहिले लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान भएको अवस्था छैन। संस्थाहरुले कर्जा उठाउन सक्ने अवस्था देखिँदैन।

लघुवित्तकमीहरु पनि तेस्रो त्रैमासमा लघुवित्तहरुको वित्तीय अवस्था खासै राम्रो नआउने बताइरहेका छन्। सबैको लघुवित्तको सीईओ केशवकुमार पौडेल तेस्रो त्रैमासमा पनि लघुवित्तहरुको वित्तीय विवरण प्रवाहित हुने बताउँछन्। ‘अहिले यो क्षेत्रमा देखिएको सिनारियोले तेस्रो त्रैमासमा लघुवित्तहरुको खराब कर्जा बढेर ५ प्रतिशतमाथि पुग्ने देखिन्छ’, उनले भने, ‘अर्को कुरा क्यान्ड डिपोजिटमा साढे ७ प्रतिशतभन्दा कम ब्याजदर कायम नपाई हुनाले पनि त्यसले कस्ट बढ्ने हुँदा अधिकांश संस्थाहरु घाटामा जान सक्छन्।’

वाणिज्य बैंकहरुले पनि सापटी माग्न सुरु गरिसकेकाले लघुवित्तहरु थप समस्यामा पर्न सक्ने सीईओ पौडेलको भनाइ छ। ‘चैतपछि राष्ट्र बैंकले सबैको रिपोर्ट अध्ययन गरेर केही न केही नीति लिन सक्छ’, उनले भने। 

कर्जा प्रवाह नभएको अवस्थामा सेवाशुल्क पनि नआउने भएकाले संस्थाहरुको उसै पनि नाफा घट्ने पौडेलको भनाइ छ। 

यस्तै उपकार लघुवित्तकी सीईओ शाारदाकुमारी खत्रीले अहिलेकै अवस्था रहिरहे तेस्रो त्रैमासमा लघुवित्तहरुको वित्तीय विवरण राम्रो नआउने बताउँछिन्। ‘राष्ट्र बैंकले पनि केही पहल गरिरहेकाले र प्रधामन्त्रीले पनि यो क्षेत्रमा देखिएको समस्याको बारेमा बुझन खोज्नुभएकोले केही सुध्रिन्छ कि भन्ने देखिएकाले तेस्रो त्रैमासको वित्तीय अवस्था राम्रो आश पनि छ’, उनले भनिन्।

लघुवित्तको देखिएको समस्याको सम्बोधन हुन थालेमा केही रमक आउने सक्ने खत्रीको भनाइ छ। ‘तर, नियाकमहरुबाटै केही सम्बोधन भएन भने चाहिँ राम्रो आउन सक्दैन’, उनले भनिन्।

स्वाभिमान लघुवित्तका सीईओ कृष्णराज चौधरी पनि ऋण असुलीमा प्रत्यक्ष प्रभाव परेकाले तेस्रो त्रैमासमा लघुवित्तहरुको वित्तीय विवरण प्रभावित हुने बताउँछन्।