– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारको यात्रा सुखद् रह्यो। पुस महिनाको सुरुआततिर करिब २२६० को न्यून विन्दु बनाएर फर्किएको बजार सामान्य करेक्सनबाहेक निरन्तर अगाडि बढिरहेको छ। 

बजारका अनेकन हल्लालाई चिर्दै बजार आफ्नो नागबेली चालमा अगाडि बढिरहेको देखिन्छ। यसरी बजार बढ्नुमा तरलता सहज बन्दै जानुले नै रहेको बजार जानकार बताउँछन्। 

पछिल्लो २ दिनमा बैंकिङ प्रणालीमा ३९ अर्ब रुपैयाँ तरलता थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। स्थानीय तहमा जाने सरकारको बजेटको ८० प्रतिशत हिस्सा वाणिज्य बैंकहरुले निक्षेपका रुपमा राख्न पाउने भएपछि तरलता केही सहजता देखिएको हो। योसँगै माघ महिनाको पहिलो साताबाट बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो कर्जा प्रवाह गर्न सक्ने अनुमानका साथ बजारमा बढोत्तरी आएको ब्रोकरहरु बताउँछन्। 

यो साताको ५ करोबारमा ४ दिन बजार बढ्यो भने १ दिन घट्यो। समग्रमा बजार यो सााता पनि बुलिस नै रह्यो। अघिल्लो साता २५२४.५ मा बन्द भएको बजार यो साता अन्तिम कारोबार दिन बिहीबार २६९२.४७ मा  अंकमा बजार बन्द भएको। योसँगै समग्रमा यो साताभरि बजार १६८ अंकले उकालो लागेको छ। 

यो साता कारोबार पनि राम्रै भएको छ। यो साता झन्डै २१ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। जुन अघिल्लो साताकै हाराहारीमा हो। 

आज बजार झन्डै ४३ अंकले बढ्दा जलविद्युत र होटेल तथा पर्यटन समूहमा आकर्षण देखियो। 

अब आगामी साता बजार के होला भनेर आमलगानीकर्तामा खुलदुली छ। यही विषयमा केही बजार जानकारले आआफ्नो तर्क प्रस्तुत गरेका छन्। 

बजार जानकार सरोज भट्टराई यो साता सेयर बजारमा एक किसिमको स्थिर बढाइ देखिएको बताउँछन्। ‘बजार आफ्नै लयमा चलेको देखिन्छ। करेक्सन हुँदै अगाडि बढेकोले बजार परिपक्व भएको देखिन्छ’, उनले भने, ‘यो साता सेयर कारोबारले पनि बजारलाई साथ दिएको छ।’

बजारमा खासगरी दोस्रो लकडाउनपछि नयाँ लगानीकर्ता पसेको भट्टराईको भनाइ छ। ‘जसका कारण बजार स्वपुँजी बढी भित्रिएको छ’, उनले भने। 

आगामी साता सामान्य करेक्सन हुँदै बजार अगाडि बढ्न सक्ने भट्टराईको तर्क छ। ‘तर डराउनुपर्ने कुनै कारण छैन किनकि त्यो भनेको नाफा बुकमात्रै हुन सक्छ’, उनले भने, ‘अझै पनि पुस महिनाको ब्याज तिर्न नाफा बुक गर्न सक्छन्। अब बजार विस्तारै माथि नै जाने हो।’

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी आगामी साता पनि बजार बुलिस नै रहने बताउँछिन्। ‘सामान्य करेक्सन होला तर बजार माथि नै जाने हो’, उनले भनिन्, ‘मेरो विचारमा नाफा बुकहुँदै आगामी साताभित्रै नेप्सेले २९०० को यात्रा तय गर्न सक्छ।’ 

अहिले बजारमा तरलता सहज हुँदै जानु, पुसमा ब्याजको प्रभाव लगभग सकिनु, पुनर्कर्जाको रकम बैंकिङ च्यानलमा आउनु, पहिले नै पास भएर बसेको लोनको पैसा बैकले दिन थाल्नुलगायतका कारणले बजार माथि लाग्ने तिवारीको तर्क छ। ‘सरकारले पनि पुँजीगत खर्च बढाउँदै गएकोले अब तरलता सहज बन्छ’, उनले भने। 

अर्का बजार जानकार महेश रिजाल आजको बढाइले बजार आगामी साता पनि पुनः उकालो नै लाग्ने संकेत गरेको बताउँछन्। ‘सबैतिर सकारात्मक समाचार आएका छन्। दैनिक तरलता बढेको समाचार आएका छन्’, उनले भने, ‘यसले आगामी महिनाबाट बैंकिङ प्रणालीमा पैसाको सहजता हुन सक्छ।’

सेयर कर्जा तथा कर प्रयोजनका लागि जाने पैसा पनि अब आगामी सातादेखि कम हुने रिजाल बताउँछन्। ‘यसले बिक्रीचाप घट्ने देखिन्छ’, उनले भने।

प्रायः लगानीकर्ता बढ्दो बजारमा नै भित्रिने भएकोेले बढ्दो बजारमा आक्रमक लगानीकर्ता पस्ने पनि सम्भावना रहेको रिजालको तर्क छ। ‘मेरो विचारमा आगामी साताबाट जारले स्पष्ट यात्रा तय गर्नेछ’, उनले भने।