– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता दोस्रो दिन सोमबार सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ। यसमा विश्लेषकहरुले आ–आफ्नै तर्क प्रस्तुत गरेका छन्। केही विश्लेषकले कारोबारसँगै परिसूचक पनि घट्नुलाई बजारमा लगानीकर्ताले घेटेर सेयर बेच्न नचाहेकोले यस्तो अवस्था आएको बताएका छन्। केहीले भने बढेर खान नमन्दा यस्तो भएको भनी तर्क प्रस्तुत गरेका छन्। यथार्थमा दुवै तर्क सत्य नै हुन्। किन्ने–बेच्ने दुवै ‘पर्ख र हेर’ को अवस्थामा रहँदा यस्तो भएको देखिन्छ। 

सेयर बजार घट्नु–बढ्नु एक समान्य नियम नै हो। जसरी एउटा पुतलीको जीवनचक्र हुन्छ, त्यसरी नै सेयर बजार पनि एउटा चक्रमा चल्छ। 

सेयर बजारमा प्राविधिक रुपमा र प्रोफेसनल रुपमा कारोबार गर्नेहरुले  एउटा विन्दुमा पुग्दा बेच्ने र एउटा विन्दुमा झर्दा किन्ने भएकोले केही समय बजारको गति स्थिर हुने गर्छ। कुनै समयमा २० अर्ब रुपैयाँ बढी सेयर कारोबार भएकोमा अहिले बाहिरी जनजीवन सामान्य भएसँगै केही सुस्ताउनु तथा असार मसान्तको प्रभावले पनि सेयर बजारमा काम गरेको बजार जानकारहरु बताउँछन्। 

आज हामीले सेयर बजारको रेखालाई विभिन्न औजारबाट विश्लेषण गर्ने कोसिस गरेका छौँ। 

मैनबत्ती विश्लेषणका आधारमा 

मैनबत्ती विश्लेषणअन्तर्गत अघिल्लो साताका क्यान्डलहरुमा बुधबारको क्यान्डलले ह्याम्मर प्याट्रन बनाएको थियो (हेर्नुहोस् हरियो एरो)। तर, लगत्तै अर्को दिनको क्यान्डल ह्यागिङ म्यानको (झुन्डिएको मान्छे) आकृति देखा पर्यो (हेर्नुहोस् रातो एरो)। जसले घट्दो बजारलाई संकेत गर्छ। त्यसपछि यो साता बनेका दुवै क्यान्डल पनि रातो मारुबुजु बन्न पुगेका छन्। यी सबै संकेतहरुले सेयर बजारमा बिक्रीचाप भएको बुझाउँछ। यो आधारमा भन्नुपर्दा सेयर बजारमा केही समय बिक्रीचाप पर्न सक्ने अनुमान लगाउन सकिन्छ।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। गएको नोभेम्बर महिनादेखि हालसम्मको बजारले बनाएको रोखाचित्रलाई आधार मानेर इलिअट वेभलाई विश्लेषण गर्ने हो भने हाल इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ (५) सकिएर वेभ ए, बी र सी चल्दै गरेको पाइन्छ। यसअन्तर्गत अहिलेको करेक्सन इन्टरमिडियट डिग्रीको वेभ ए चल्दै गरेको अनुमान लगाउन सकिन्छ। यो  फिवोनासीको ०.५ प्रतिशतको टेवा २७८० मा अथावा अझै घटेमा ०.६१ प्रतिशतको करेक्सन लगभग २७०८ को विन्दुसम्म आउन सक्छ। यो भनेको इन्टरमिडियट डिग्रीको वेभ ए हुने र त्यहाँबाट पुन फर्केको बजार यही डिग्रीअन्तर्गतको वेभ बी बनाउन लगभग २९०८ को विन्दुसम्म फेरि एक पटक बजार बढ्न सक्छ। त्यसपछि यही डिग्रीको वेभ सी बनाउन २५०० को विन्दुसम्म बजार आएर सन् २०१९ नेभेम्बर २० बाट सुरु भएको एउटा चक्र पूरा हुन सक्ने सम्भवना बजारमा इलिअट वेभबाट अनुमान लगाउन सकिन्छ। (हेनुहोस् मुख्य तस्बिर)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २९३४, ०.३८ प्रतिशतको टेवा २८४९ तथा ०.५ प्रतिशतको टेवा २७८० र ०.६१ प्रतिशतको टेवा २७०८ को विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। जुन तस्बिरमा हेर्न सकिन्छ।

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत गएको १७ जुनमा बियरिस क्रसओभर बनेको छ। सिग्नल बियरिस नै देखिन्छ।  हिस्टोग्रामहरु (कालो एरोले देखाएको) छोटा–छोटा हुँदै गएका छन् तर नेगेटिभ नै भएकोले केही समय बजार बियरिस नै हुन सक्ने अनुमान लगाउन सकिन्छ।   

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले लोअर ब्यान्डलाई छोएको तर ब्रेकआउट नै भने नभइसकेकोले बजार केही समय साइडवेजमा जानसक्ने अनुमान लगाउन सकिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभरबट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ४५.०७ रहेको छ। जसको अर्थ हुन्छ न्युट्रल जोनभन्दा तल छ र अघिल्लोपटक यो विन्दु ७८.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई ३७.८२ मा आउँदा अघिल्लोपल्ट बजारमा बुलिस यात्रा तय भएको थियो। आरएसआईका आधारमा बजारको विश्लेषण गर्नुपर्दा आरएसआई न्युट्रल जोनभन्दा तल आएकोले एकपटक बजार ओभर सोल्ड जोनमा तथा ओभर सोल्ड नजिक आउन सक्ने अनुमान लगाउन सकिन्छ। 

४४ दिने मुभिङ एभरेजका आधारमा 

मुभिङ एभरेजलाई अर्को शब्दमा रोलिङ एभरेज अर्थात रनिङ एभरेज पनि भनिन्छ। विभिन्न दिनको सेयरको अन्तिम मूल्यलाई गणना गरी एभरेज निकालेर रेखाचित्र बनाइन्छ। यस्ता चित्र १०, ४०, ४४, ५० र २०० दिने हुन्छन्। लगानीकर्ताले यो आफैँ गणना गर्ने झन्झट गरिराख्नुपर्दैन। केबल चार्टमा गएर कति दिनको मुभिङ एभरेज हेर्ने हो, सोहीअनुसार सहज तरिकाले हेर्न सकिन्छ। धेरै प्रोफेसनल ट्रेडरहरुले ४४ मुभिङ एभरेजलाई आफ्नो लगानीको रणनीति बनाएको पाइन्छ। ४४ दिने मुभिङ एभरेजले मूल्यरेखाभन्दा तल रहन्छ भने बजार बुलिस भएको बुझिन्छ भने यो रेखा मूल्यरेखाभन्दा माथि गए बजार बियरिस भएको विश्लेषण गरिन्छ। जब ४४ दिने मुभिङ एभरेजले तलबाट छुन्छ र हरियो क्यान्डल बन्छ भने बजारमा बुलिस सिग्नल आएको बुझिन्छ (हेर्नुहोस् हरियो एरो)। यदि यो ४४ दिने मुभिङ एभरेज रेखा मूल्यरेखाभन्दा माथि जान्छ भने बजार बियरिस हुन थालेको बुझिन्छ। हाल यो रेखाले मूल्यरेखालाई छोएको तर मूल्यरेखाभन्दा तल नै रहेकोले बजार बुलिस नै भएको अनुमान लगाउन सकिन्छ (हेर्नुहोस् कालो एरो)

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।