काठमाण्डौ । केही दिनअघि मात्र अलीबाबा ग्रुपका फाउन्डर ज्याक मा चिचियाँ राष्ट्रपति सी जिनपिङसँगको विवादपछि बेपत्ता भएको खबर सार्वजनिक भएको थियो। करिब २ महिनादेखि उनी बेखबर छन्। 

यही विषयलाई लिएर चिनियाँ मिडिया दी एसिया टाइम्सले ज्याक मा अहिले सरकारी एजेन्सीहरुको निगरानीमा रहेको खबर सार्वजनिक गरेको हो। यो खबर बाहिर आएसँगै अहिले ज्याक मा कि जेलमा छन् कि त नजरबन्दमा राखिएका छन् भन्ने अनुमान गर्न थालिएको छ।

त्यसो त आलोचकहरुको आवाज दबाउने रणनीति चीन सरकारको कुनै नौलो कुरा नभएको ज्याक मा समर्थकहरु बताउँछन्। ‘यदि कोही ठूला हस्तीहरुलाई सरकारले पक्राउ गर्छ भने त्यस्ता खबरहरु छिटै बाहिर सार्वजनिक गरिँदैन’, उनीहरु भन्छन्, ‘त्यसैले अहिले ज्याक मा पनि पक्राउ परिसकेका छन् कि भन्ने हाम्रो अनुमान हो।’

गत अक्टोबरमा ज्याक माले ब्याजदरको विषयमा देशका सरकारी बैंकहरुको आलोचना गरेका थिए। उनले धेरै ब्याजदरले व्यापारव्यवसायलाई निरुत्साहित गरेको भन्दै त्यसमा परिवर्तन गर्न सरकारलाई चुनौती दिएका थिए। 

ज्याक माको अभिव्यक्तिप्रति चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले कडा प्रतिरोध गरेको थियो। त्यसपछि ज्याक माको खराब दिन सुरु भएको समर्थकहरु बताउँछन्। अनि उनका व्यापारविरुद्ध असाधारण प्रतिबन्ध लगाउन सुरु गरिएको थियो।

गत नोभेम्बरमा चीन सरकारले ज्याक माको एन्ट ग्रुपको ३७ अर्ब डलरबराबरको आईपीओ निलम्बन गर्यो। वाल स्ट्रिल जनरलको रिपोर्टअनुसार यो आईपीओ रद्द गर्न राष्ट्रपति जिनपिङबाट ठाडो आदेश आएको दाबी गरिएको छ।

त्यसपछि गत क्रिसमसको पूर्वसन्ध्यामा चीन सरकारले ज्याक मालाई अलीबाबा ग्रुपमाथि भइरहेको जाँच पूरा नहुन्जेलसम्म चीन बाहिर नजान निर्देशन दिएको बताइएको छ।– एजेन्सी