काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले सेयरधनीहरुका लागि जारी गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रद निष्कासनका लागि यही पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँबराबरको हकप्रद जारी गर्दैछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गर्नेछ। 

यसैबीच कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय पनि गरेको छ। सभा काठमाण्डौको गैह्रीधारास्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ।

सभाले ३० प्रतिशत हकप्रद जारीपछि कायम हुने चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको फेरि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। नियामक निकायबाट हकप्रद निष्कासनको स्वीकृति प्राप्त भएपछि जारी गरिने कम्पनीले जनाएको छ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन पाउनेछन्।