काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश वितरण र २२ औँ वार्षिक साधारणसभा प्रयोजनका लागि आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर दाखिला खारेज (बुक क्लोज) को मिति तय गरेको छ।

आरएमडीसी लघुवित्त सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले आउँदो मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ मंसिर ७ गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

गत आर्थिक वर्षको मुनाफाबाट संस्थाले चुक्तापुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १७ करोड ९८ लाख ६४ हजार ६८५ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुने आउने १३ करोड ४८ लाख ९८ हजार ५१३.७५ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ६६ हजार १७१.२५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश संस्थाको आउँदो मंसिर २२ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।