काठमाण्डौ । हालसम्मकै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओ आज शुक्रबार बाँडफाँड भए पनि रिजल्ट आउने अझै केही घन्टा लाग्ने भएको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आईपीओ बाँडफाँडपछि डाटा प्रोसेसिङका लागि केही समय लाग्ने भएको हो। अबको कम्तीमा २ घन्टाभित्र आईपीओ बाँडफाँडको रिजल्ट सार्वजनिक हुन सक्ने क्यापिटलका एक अधिकारीले बताए। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित मुख्यालयमा बिहान १० बजे एक कार्यक्रमबीच निफ्राका आईपीओ बाँडफाँड गरिएको थियो। आईपीओ बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेजमा पनि गरिएको थियो।

बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

यो आईपीओमा कुल १४ लाख ७५ हजार ८ वटा आवेदन सदर भएका छन् भने ६ हजार २७६ आवेदन बदर भएका छन्। 

यो आईपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३०० कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २४८ आवेदकले ६ लाख ७ हजार ४४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९३४ आवेदकले ६ लाख ७७ हजार ३६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९३८ आवेदकले ८९ लाख ९६ हजार ९०० कित्ता सेयर पाएका छन्। ५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै पाएका छन् । यो हिसाबले कुल ७ करोड ९ लाख १९ हजार २८० कित्ता सेयर बाँडफाँड गरिएको छ। 

बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर भने लक्की ड्रमार्फत १० कित्ता थप बाँडफाँड गरिएको छ। लक्की ड्रमा भने ५० कित्ताभन्दा बढी आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकलाई समावेश गरिएको थियो। तीमध्ये ४ लाख ९२ हजार ७२ आवेदकले थप १० कित्ता सेयर पाएका छन्।