काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेका नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र चन्द्रागिरी हिल्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणको प्रक्रिया अघि बढेको छ।

निफ्राका डेपुटी सीईओ भुपेन्द्र पाण्डेले निफ्राको सेयर नेप्सेमा सूचीकरणका लागि सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। ग्लोबल आईएमई क्यापिटलले पनि आवश्यक कागजात प्रक्रिया सूचीकरणका लागि नेप्सेमा फाइल पठाइसकेको जनाएको छ। 

निफ्राभन्दा अघि सेयर निष्कासन गरेको चन्द्रागिरी हिल्सको सेयर सूचीकरणका लागि भोलि मंगलबार सीडीएस एन्ड क्लियरिङ लिमिटेडसँग सम्झौता हुन गइरहेको सेयर निष्कासन र सेयर रजिस्ट्रारको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

निफ्राले ७ करोड ५८ लाख ४० हजार कित्ता र चन्द्रागिरीले १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको छ। यी दुवै कम्पनीका सेयर यही साता नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुने अपेक्षा गरिएको छ ।