काठमाण्डौ । भारतीयले लगाएको नाकाबन्दीको खुलेर विरोध गर्न नसकेको नेपाली कांग्रेसलाई उसको १३ औं महाधिवेशनका लागि आवश्यक आर्थिक व्यवस्थापन तथा महाधिवेशन प्रतिनिधिहरुलाई खरीद गर्ने उद्देश्यले भारतले कांग्रेसका विभिन्न गुटहरुलाई १० करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपालस्थित भारतीय दूतावासमा रहेको उच्च स्रोतका अनुसार भारतले आफ्नो अनुकूलको कांग्रेस नेतृत्वका लागि यति धेरै रकम उपलब्ध गराएको हो । यो रकम अघिल्लो महाधिवेशनको भन्दा ६ करोड रुपैयाँले बढी हो । 

१२ औं महाधिवेशनमा समेत भारतले नेपाली कांग्रेसलाई नेता कृष्ण सिटौलामार्फत ४ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । उनले २ करोड पार्टीलाई बुझाए पनि बाँकी २ करोड चाहि आफैले  राखेका अझै पनि कांग्रेसको शीर्ष नेताबीच चर्चा चल्ने गर्छ । 

स्रोतका अनुसार १३ औं महाधिवेशनमा सबैभन्दा बढी रकम रामचन्द्र पौडेल नेतृत्वको टिमले प्राप्त गरेको छ । यो टिमको भागमा ५ करोड रुपैयाँ परेको छ । कांग्रेसका कार्यबाहक सभापति समेत रहेका पौडेलको नेतृत्वमा संस्थापन समूहको अलग्गै प्यानल बनेको छ । यो प्यानलबाट मुख्यमन्त्रीको रुपमा वीपी पुत्र सशांक कोइराला चुनाव लड्दैछन् । संस्थापन पक्षका धेरै नेता भारतसँग नजिक भएका कारण र यो समूहले महाधिवेशनको खर्च व्यवस्थापन पनि गर्नुपर्ने भएकोले ५ करोड रुपैयाँ पाएको स्रोतको भनाई छ । 

यसैगरी, शेरबहादुर देउवा र कृष्ण सिटौला समूहले चाहि २÷२ करोडको दरले भारतीय रकम सहयोग पाएको छ । यी दुवै समूहले यो रकम आफ्नो पक्षमा माहौल सिर्जना गर्न तथा कार्यकर्तालाई खरीद गर्न खर्चिइरहेका स्रोतको भनाई छ । बाँकी एक करोड चाहि भारतसँग निकट रहेका विभिन्न नेताहरुलाई व्यक्तिगत रुपमा उपलब्ध गराइएको दूतावास स्रोतले उल्लेख गरेको छ ।  

कांग्रेसका विभिन्न प्यानल तथा नेताहरुले भारतबाट पाएको सहयोग बाहेक नेपालका उद्योगी व्यवसायी तथा शुभेच्छुकहरुबाट समेत लाखौं रुपैयाँ उठाएर कार्यकर्तालाई प्रभाव पार्ने काममा खर्चिरहेका छन् । महाधिवेशन प्रतिनिधिलाई राखिएका होटेलहरुमा पैसाको खोलो बगाइएको स्वयम् कार्यकर्ता बताउँछन । एक समूहले अर्को समूहको मतदाता खरीद गर्ने उद्देश्यले भोट किन्ने क्रम समेत तीव्र भएको छ ।

कार्यकर्ताको समूहलाई खान्तपिन्तेमा समेत नेताहरुले राम्रै रकम खर्चिरहेका छन् । यस अलावा प्रचारप्रसारमा समेत उनीहरुले लाखौ रुपैयाँ खर्चिएका छन् । पैसाको व्यापक चलखेल भएकै कारण परिणाम कस्को पक्षमा जाने भन्ने बिषय अन्यौलमा परेको छ । पैसाको प्रभावमा परेर महाधिवेशन प्रतिनिधिले मत हाले भने भारतको स्वार्थ पूरा हुने गरी परिणाम आउने समेत आँकलन गर्न थालिएको छ । प्रतिस्पर्धा निकै कडा भएको बुझेको भारतले बाहिर हेर्दा सन्तुलित भूमिका खेल्न खोजेको देखिए पनि सिटौलालाई सभापतिमा उठाएका कारण रामचन्द्र पौडेल भन्दा शेरबहादुर देउवाप्रति उसको आकर्षण रहेको बुझिने स्रोतको भनाई छ । ‘सिटौला भारतकै इशारामा संस्थापनको क्याम्प छाडेर सभापतिमा उठेका हुन् ।’ स्रोतले भन्यो–‘यो रणनीति हेर्दा समेत भारतको भित्री इच्छा समेत सभापतिमा देउवा नै आउन् भन्ने देखिन्छ ।’