काठमाण्डौ । नेपाली कांग्रेस (बीपी) का सभापति तथा कांग्रेसका प्रखर वक्ता नेता हरिवोल भट्टराईलाई हृदयघात भएको छ। 

मंगलबार साँझ ६ बजे हृदयघात भएका नेता भट्टराईको अवस्था शुक्रबार(आज) दिउँसोसम्ममा निकै सुधार भइसकेको छ। घरमै रहेका नेता भट्टराईलाई मंगलबार साँझ एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो। परिवारजनले उनलाई तत्काल स्टार हस्पिटलमा भर्ना गरेका थिए। त्यहाँ राखेर प्राथमिक उपचार गरिए पनि थप उपचार सम्भव नभएपछि चिकित्सकहरुको रिफर अनुसार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना गरिएको थियो। 

नर्भिकमा नेता भट्टराईको डा. जेपी जैसवाल नेतृत्वको मेडिकल टिमले राति ८ः३० बजे सर्जरी गरेको थियो। सर्जरी गरी ब्लक भएको तीनवटै आर्टरीमा स्टेन्ट राखिएको थियो। 

सर्जरीअघिदेखि नै नेता भट्टराईलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखी उपचार थालिएको थियो। हर्ट सर्जरी गरी स्टेन्ट राखेपछि बिस्तारै भेन्टिलेटरको सपोर्ट हटाइएको थियो। नेता भट्टराईले आज(शुक्रबार)देखि पूर्ण रुपमा होसमा आई अरुसँग कुराकानी पनि गर्न थाल्नुभएको डा. जैसवालले बताए। ‘भट्टराईलाई समयमै नर्भिक ल्याइएका कारण सबै कुरामा धेरै चाँडो ठीक गर्न हामी सफल भयौँ’, डा. जैसवालले भने, ‘भट्टराईको अवस्था लगभग खतरामुक्त रहेको छ।’ 

७४ वर्षीय भट्टराईको अवस्थामा तीव्र सुधार भएका कारण ढिलोमा आइतबारसम्म वार्डमा सार्ने तयारी भइरहेको डा. जैसवालले जानकारी दिए। 

नेता भट्टराईका छोरा अभिनव भट्टराईले नर्भिक इन्टरनेशनल हस्पिटलमा समयमै ल्याइपुर्याएका कारण आफ्नो पिताको ज्यान जोगिएको बताए। ‘स्टार हस्पिटलबाट सोझै नर्र्भिक नल्याएको भए मेरो बुबाको ज्यानै जोखिममा पर्ने रहेछ’, उनले भने, ‘नर्भिकको टिमले समयमै संभव सबै उपचार गरिदिएका कारण मेरो बुबाको ज्यान जोगियो, डा. जैसवालसहित सम्पूर्ण नर्भिकलाई मेरो आभार छ।’ 

नेता भट्टराईको अगुवाइमा गत संसदीय निर्वाचनअघि नेपाली कांग्रेस (बीपी) नामको पार्टी गठन भएको थियो। पूर्वमन्त्रीहरु सुशीलमान शेरचन सो पार्टीका महामन्त्री छन्। 

नेता भट्टराई पार्टीभित्रै पनि प्रखर वक्ताका रुपमा चिनिन्छन्। उनी २०४३ सालमा काठमाण्डौको मेयरमा निर्वाचित भएका थिए। त्यसपछिका संसदीय निर्वाचनहरुमा काठमाण्डौका विभिन्न निर्वाचन क्षेत्रबाट उनी नेपाली कांग्रेसबाट टिकट पाई उम्मेदवार बन्दै आएका थिए।