काठमाण्डौ । नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरको व्यवस्थापन गर्नका लागि सम्झौता भएको छ।
यस सम्झौताबमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने र नकुहिने फोहोर छुट्याउने तथा अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गर्नेछ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र डोको रिसाइक्लर्सका संस्थापक रुनित सरियाले हस्ताक्षर गरेका छन्।
सम्झौताको पहिलो चरणमा डोकोले बैंकमा रहेका काम नलाग्ने कागजातको व्यवस्थापनमा कार्य गर्नेछ। बैंकमा प्रयोग भई काम नलाग्ने अवस्थामा रहेका कागजको फोहोरलाई टुक्राई पुनः प्रयोग योग्य बनाउने, डिस्पोजलको कार्यलाई वातावरणमैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागजलाई कच्चापदार्थका रुपमा प्रयोग गरी ‘रुख बचाऊ अभियान’मा समर्थन जनाउने बैंकले जनाएको छ।
त्यसैगरी व्यवहार परिवर्तनका लागि बैंकका कर्मचारी तथा ग्राउन्ड स्टाफका लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्नेछ।
सम्झौतामा डोकोले बैंकको हाताभित्रै गएर काम नलाग्ने कागजातहरु श्रेडिङ मेसिनको सहायताले नष्ट गर्ने पनि उल्लेख छ। यो सम्झौताले बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई टेवा पुग्ने बैंकले जनाएको छ।
नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङको सुरुआत गरेको थियो। सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार भएको छ।
नबिल निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देशभरि २३३ शाखा र २६९ एटीएम सञ्चालनमा छन्।
42 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago