काठमाण्डौ । काठमाडौँ महानगरपालिकामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ ।

महानगरपालिकासँगै जोडिएका अन्य नगरपालिकासमेतलाई जोड्ने हो भने दैनिक झन्डै ७०० टनसम्म फोहर उत्पादन हुने गरेको छ । सिसडोल ल्यान्डफिल साइडमा दैनिक ६५० टन फोहर व्यवस्थापन हुँदै आएको कामपाका वातावरण महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिए ।

उहाँका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ ले नै फोहर व्यस्थापनका लागि कुहिने र नकुहिने फोहर उत्पादन हुने स्रोतबाट नै व्यवस्थापन गरिनुपर्छ । पछिल्लो समय कामपाले केही वडामा कुहिने र नकुहिने फोहरको व्यवस्थापन गर्ने कार्यलाई समेत अघि बढाएको छ ।

काठमाडौँको फोहर व्यवस्थापनका लागि दैनिक १०० वटा गाडी प्रयोग हुने गरेको छ । सिसडोलमा फोहर लानका लागि ठूला ट्रक २० वटा, त्यसैगरी ४० देखि ५० वटा गाडी दैनिकरुपमा महानगरपालिकाको फोहर सङ्कलनका लागि प्रयोग हुने गरेको र अन्य केही सफाइ प्रयोजनका लागि पानीको ट्याङ्की प्रयोग हुने गरेको छ ।

यसैबीच महानगरपालिकाले फोहरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी सुरूमा बायो ग्यास र त्यसैबाट १४ किलोवाट बिजुली निकाल्ने तयारी महानगरको छ ।

बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो ।

यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने महानगरपालिकाले जनाएको छ । पछिल्लो समय फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्न लागिएको होे ।

दिगोरुपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्यनन भइरहेको छ । सरकारले पनि फोहरमैलाको दिगो व्यवस्थापनका लागि एकीकृत सहरी फोहरमैला व्यवस्थापन परियोजनालाई स्वीकृत गरिसकेको छ ।

“प्रत्येक व्यक्ति वा संस्थाको आफ्नो वरिपरि रोपेको बोटबिरुवा र गमलाको संरक्षण गर्ने र फोहरको पनि व्यवस्थापन गर्र्नु अबको आवश्यकता हो,” प्रमुख गौतमले भने ।

युरोपियन युनियन र महानगरले संयुक्तरुपमा करिब रु दुई करोड लगानी गरी बिजुली निकालिने र सो बिजुली महानगरको कार्यालयमा प्रयोग गरिनेछ ।

महानगरले टेकुमा सङ्कलित फोहरबाट दैनिक ९६ केजी ग्यास, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुने जनाएको छ ।