काठमाण्डौ । कोरोना संक्रमणको संभावित जोखिमबाट बच्न काठमाण्डौ छाड्नेहरुको लर्को बढेको छ । 

टाफिक प्रहरीका अनुसार ४ दिनमा झण्डै ५ लाख नागरिकले काठमाण्डौ छाडेका छन् । 

यो बुधबारदेखिको तथ्यांक हो । 

उसका अनुसार बुधबार ९५ हजार २४७ जनाले काठमाण्डौ छाडेका थिए । बिहीबार यो संख्या ८९ हजार ८०४ थियो भने शुक्रबार ९८ हजार ५१७ र शनिवार सबैभन्दा बढी १ लाख ८६ हजार ५४९ जनाले काठमाण्डौ छाडेका छन् । यसरी ४ दिनमा ४ लाख ७० हजार ११७ जनाले काठमाण्डौ छाडेका छन् । 

प्रधानमन्त्रीले शुक्रबार देशबासीको नाममा सम्बोधन गरी आइतबारदेखि सेमी लकडाउनको घोषणा गरेपछि काठमाण्डौ छाड्नेको संख्या ह्वात्तै बढेको देखिएको छ । 

चार दिनको तुलनामा सबैभन्दा बढी शनिवार एकैदिन धेरैले काठमाण्डौ छाडे । यो दिन काठमाण्डौबाट विभिन्न गन्तव्यका लागि  २७ हजार २६० बसहरुले १ लाख ८६ हजार ५४९ जनालाई लिएर गएका बताइएको छ । 

शनिवार बिहानैदेखि नयाँ बसपार्क, कोटेश्वर लगायतका बस टिकट काउण्टरमा सर्वसाधारणको थामिनसक्नुको भीड देखिएको थियो । 

सर्वसाधारणहरु कोरोना संक्रमण भइहाले धेरै जनघनत्व रहेको काठमाण्डौमा बढी प्रभाव पार्ने भन्दै धमाधम आफ्नो जिल्ला फर्किरहेका छन् । 

सरकारले अधिकांश नागरिकलाई घरमै सुरक्षित ढंगले बस्न भने पनि सर्वसाधारण भने त्यसको ठीक विपरीत धमाधम काठमाण्डौ छाडिरहेका छन् ।