काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विश्वभरि फैलिएको कोभिड–१९ बाट प्रभावित करदातालाई विशेष सहुलियत दिने भएको छ।

महानगरद्वारा शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा महामारीबाट प्रभावित करदातालाई सहुलियत उपलब्ध गराउने व्यवस्थ उल्लेख छ। मेयर विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट सहुलियत दिनेजस्ता नीति महानगरपालिकाले लिएको बताए। 

आव २०७७/७८ लाई करदाताको अभिलेखन वर्ष घोषणा गरी वैज्ञानिक एकीकृत करदाता अभिलेख तयार गर्न आवश्यकतानुसार व्यवस्थापनमा स्नातक/स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गर्ने पनि बताइएको छ। आन्तरिक स्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। 

करदातालाई कर प्रणालीमा स्वेच्छिकरुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने महानगरको नीति छ। कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागू गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने पनि नीतिमा भनिएको छ। 

महानगरले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र सञ्चालित होटेल, रेष्टूराँ, सपिङमललगायत अन्य व्यापार व्यवसायलाई विशेष सहुलियत प्रदान गर्ने नीति पनि लिएको छ। 

२५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, आवागमन व्यवस्थापनमा केन्द्रित छ।