काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले लकडाउनका कारण गत आर्थिक वर्ष २०७६/७७ को सम्पूर्ण कर बक्यौतामा जरिवाना नलिने घोषणासँगै चालु आर्थिक वर्ष २०७७/७८ मा महानगरवासीले तिर्नुपर्ने विभिन्न करमा छुटको व्यवस्था गरेको छ। 

महानगरको सातौँ नगरसभाले जरिवाना र कर छुटको घोषणा गरेको हो। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको प्रभाव तथा नेपाल सरकारबाट घोषणा भएको लकडाउनका कारणले महानगरवासीमा पर्न गएको असामान्य अवस्थालाई ध्यानमा राखी घर छुटको घोषणा गरिएको महानगरले जनाएको छ। 

महानगरले चालु आर्थिक वर्षको पुस मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशतसम्म छुट हुने भएको छ। होटेल वा रिर्सोटका नाममा दर्ता भई सञ्चालनमा रहेका करदाताहरुलाई चालु आर्थिक वर्षको सम्पत्ति करमा पुस मसान्तसम्म ८५ प्रतिशत छुट हुने र माघदेखि असार मसान्तसम्म ७५ छुट दिने महानगरले निर्णय गरेको छ। 

यसैगरी महानगरले आर्थिक वर्ष २०७२/७३ लाई व्यवसाय करको आधार वर्ष मान्ने र सोभन्दा पुरानो आर्थिक वर्षहरुको व्यवसाय कर बक्यौता र जरिवानामा सतप्रतिशत छुट दिने घोषणा गरेको छ। चालु आर्थिक वर्षमा लाग्ने व्यवसाय करमा आर्थिक ऐन, २०७७ को (ङ) खण्डमा उल्लेख होटेल, पर्यटन तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसाय करमा ५० प्रतिशत छुट दिइने र अन्य व्यवस्थाको व्यवसाय करमा २० प्रतिशतसम्म छुट हुने महानगरले जनाएको छ। 

यस्तै आर्थिक वर्ष २०७२/७३ लाई बहाल करको आधार वर्ष मान्ने र सोभन्दा पुरानो आर्थिक वर्षहरुको बहाल कर बक्यौता र जरिवानामा सतप्रतिशत छुट हुने महानगरपालिकाले जनाएको छ। लकडाउनको अवधिमा घरधनीले कम्तीमा एक महिनाको बहाल छुट दिएको स्वःघोषणा गरेमा आर्थिक वर्ष चालु आर्थिक वर्षमा लाग्ने बहाल घरमा १० प्रतिशत छुट महानगरले दिने भएको छ।