काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विद्युतीय सवारीसाधनमा सतप्रतिशत कर छुट दिने भएको छ। 

आज नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन्। घविद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न सवारी करमा सतप्रतिशत छुट दिने निर्णय काठमाण्डौ महानगरले लिएको छ। यसका साथै नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेसन निर्माणलाई पनि प्राथमिकतामा राखिएको पनि शाक्यले बताए। 

मेयर शाकयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रको रूपमा विकास गरिने बताए।

महानगरले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्रीवितरण र प्रयोगलाई प्रोत्साहन गर्ने नीति पनि लिएको छ। 

यसैगरी बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेस गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ, सोही रकमबराबर छुट दिइने मेयर शाक्यले बताए। 

यस्तै महानगरलाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने भएको छ। कोभिडबाट प्रभावित करदाता तथा सार्वजनिक निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट÷सहुलियत दिइनेछ शाक्यले जानकारी दिए। 

महानगरले मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीलाई खानेपानी शुल्क मिनाहा गर्ने भएको छ। यस्तै, सुक्खाक्षेत्रका ग्राहकको बक्यौता रकम मिनाहा गर्ने व्यवस्था मिलाइने पनि शाक्यले जानकारी दिए। 

महानगरले कोभिड लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। ज्येष्ठ नागरिकको उपचार गर्न १०० बेडको काठमाण्डौ महानगर विशेष अस्पताल निर्माण गरिने भएको छ। महानगरपालिकाको उपत्यका भित्रिने सवारीसाधन धुनका लागि भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने योजना राखिएको छ।