काठमाण्डौ। स्थानीय सरकारको कर भुक्तानीसमेत अनलाइनबाटै गराउने गरी काठमाण्डौ महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएसमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ। यस सुविधाका लागि काठमाण्डौ महानगरपालिकालाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो।

यस सुविधासँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्क घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्यांकन गरी अनलाइन भुक्तानीका लागि कनेक्ट आईपीएस ई–पेमेन्टमार्फत भुक्तानी गर्न सक्नेछन्। यससँगै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुने भएकोले करदातालाई यस सुविधाले सहज हुने विश्वास गरिएको छ।

महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय गई एकपटक आफ्नो मोबाइल नम्बर र ई–मेल ठेगाना आबद्ध गराउनुपर्ने हुन्छ। यसरी आबद्ध गरी सकेपछि करदाताले https://eservice.kathmandu.gov.np/ मा गई आफ्नो युजर नेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गरी रकम भुक्तानीका लागि आफ्नोे बैंक खाताबाट कनेक्ट आईपीएसमार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन्। 

कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटफर्म हो। जसमा अनलाइन फन्ड ट्रान्सफरलगायत नेपाल सरकारको राजस्व भुक्तानी, कम्पनी रजिस्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड, नेप्से अनलाइन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल, कलेज, इन्स्युरेन्स भुक्तानीजस्ता कारेबारहरु गर्न सकिने व्यवस्था रहेको छ।