काठमाण्डौ । देशभर उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहका बीच काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ।

नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने प्रशंसनीय लक्ष्य लिई अघि बढिरहेको काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–७ मा बाल अस्पताल निर्माण गरिरहेको छ। सोही बाल अस्पताल निर्माणका लागि कुमारी बैंकले उक्त सहयोग प्रदान गर्नेे जनाएको छ। 

सामाजिक उत्तरदायित्वलाई आफ्नो मान्यताका रुपमा अँगाल्दै आएको कुमारी बैंकले समग्र समाजको हित हुने यस्ता परियोजनालाई प्रोत्साहन गर्दै आएको छ। 

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल तथा काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबीच दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।