काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले दोस्रो चरणमा कात्तिक २७ गतेबाट सर्वसाधारणका लागि ८.७३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यसअघि पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। त्यसमध्ये खरिद आवेदन नपरेका २ लाख ४३ हजार ९१० कित्तासहित कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। 

निष्कासन गरिने कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा छिटोमा मंसिर ३ गते र ढिलोमा मंसिर ११ गते (बैंकिङ समयपछि आवेदन दिने कार्य बन्द हुनेछ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।