कठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले राष्टबैंकले तोकेको पूँजीवृद्धिको नीति अनुसार लक्ष्य प्राप्तिमा कतिपय अन्य बैंकको तुलनामा तीव्र रफ्तारमा प्रगति हासिल गर्दै गएको छ । 

यही क्रममा केही समयअघि अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई गाभेको यो बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ति गरी शनिवारदेखि एकीकृत बित्तीय कारोबार आरम्भ गरेको छ । 

पूँजीवृद्धिको योजनामा कुनै बेला अनिर्णितजस्तो देखिएको यो बैंकले पछिल्लो समय राम्रो प्रगति हासिल गर्दै गएको हो । ससाना बैंक तथा बित्तीय संस्थाहरुलाई आफूमा गाभेर यो बैंकले तोकिएको चुक्तापूँजी पुर्याउन 'खरायो गति'मा काम गरिरहेको देखिन्छ । 

सगरमाथा फाइनान्सलाई गाभेसँगै यो बैंकले नयाँ उचाई प्राप्त गरेको संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले बताए । एकीकृत बित्तीय कारोबार आरम्भ समारोहमा बोल्दै उनले अरनिको, इन्नोभेटिभलाई गाभेर कायम भएको ४ अर्ब ७१ करोड चुक्तापूँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्ने, त्यसमा सगरमाथाको पूँजी तथा प्राप्तिको प्रक्रियामा रहेका अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको पूँजी समेत थपिँदा बैंकको कुल चुक्तापूँजी ७ अर्ब ३३ करोडको उचाईमा पुुग्ने जानकारी दिए । बाँकी पूँजी बोनस सेयर जारी गरेर पुर्याइने बैंकको नीति रहेको छ । 

पूँजीवृद्धिको योजनामा कतिपय वाणिज्य बैंक अझै पनि अलमलमा परिरहेका बेला सेञ्चुरीको प्रगतिलाई प्रशंसनीय भन्दै नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले भविष्यमा सेञ्चुरी बैंकले आफ्नो अलग्गै पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरे । 

सगरमाथा फाइनान्सलाई प्राप्ति गरेपछि बैंकको शाखा सञ्जाल संख्या ६६ पुुगेको तथा अन्य दुुई कम्पनी समेत गाभिएपछि ९० वटा शाखा संख्या पुुग्ने प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिम्सिनाले जानकारी दिए । उनका अनुसार सरकारको अंगिकार गरेको नीति अनुसार सेञ्चुरी बैंकले नयाँ स्थानीय तह अन्तर्गत २० वटा गाउँपालिकामा नयाँ शाखा स्थापनाको लक्ष्य लिएको छ । ‘उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्दै जाने हाम्रो रणनीति हो ।’ उनले भने । 

राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित एक समारोहका बीच सेञ्चुरी र सगरमाथाको एकीकृत कारोबारको औपचारिक सुरुवात अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए । उनले मर्जरको तीव्र गतिमा समाहित सेञ्चुरी बैंक सवल र सक्षम बन्दै गएको विश्वास व्यक्त गरे । उनले बैंकहरुले संस्थागत सुशासन र ग्राहक केन्द्रीत सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । निक्षेपको सुरक्षा र उत्पादनशील क्षेत्रमा कर्जा बिस्तारमा समेत ध्यान पुर्याउन उनले वाणिज्य बैंकहरुलाई आग्रह गरेका थिए । देशमा पर्याप्त साधनस्रोत रहेकोले अब देशमा समृद्धिको युुग सुरु हुने समेत उनको भनाई थियो । 

कार्यक्रममा कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीले समेत कान्छो बैंकले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गरेका थिए ।