काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा लोभलाग्दो प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्ष २२ करोड ३९ लाखमा सीमित खूद नाफा बढाएर ३२ करोड ५१ लाखको उचाईमा पुर्याएको हो । पहिलो त्रैमासमा १० करोड ५७ लाख नाफा गरेको यो बैंकले बाँकी तीन महिनामै नाफातर्फ २२ करोड रुपैयाँ थपेको छ, जुन निकै कमालको प्रगति हो । 

बैंक हाल एक्टिङ सीइओ जीवन  भट्टराईको नेतृत्वमा चलिरहेको छ । फुल सीइओ नभएको अवस्थामा समेत भट्टराईको कुशल नेतृत्वले बैंकले आशालाग्दो प्रगति गरेको हो । 

यो बैंकको अन्य प्रमुख सूचकहरुमा समेत राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ५१ करोड ६० लाखमा सीमित खूद ब्याज आम्दानी वृद्धि भई समीक्षा अवधिमा ७६ करोड माथि पुगेको छ । यस्तै, खर्च नियन्त्रणमा व्यवस्थापनले ध्यान दिंदा संचालन नाफा समेत ३२ करोड ७४ लाखबाट बढेर ३९ करोड २७ लाख पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ५२ अर्ब १७ करोड निक्षेप संकलन गरी ४७ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३२ अर्ब ६७ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड मात्र कर्जा प्रवाह गरेको थियो । 

बैंकले रिजर्ब कोषमा समेत  गतिलो फड्को मारेको छ । अघिल्लो वर्ष ८३ करोड ५९ लाख रुपैयाँ रहेको कोष बढेर १ अर्ब ७६ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा ११ करोड १२ लाख राइट ब्याक गरेको बैंकले संभावित जोखिम व्यवस्थापनका लागि १८ करोड १९ लाख प्रोभिजनमा राखेको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जा बढेको छ, तर अघिल्लो त्रैमासको तुलनामा भने घटेको छ । अघिल्लो वर्ष ०.४७ प्रतिशत रहेको यस्तो कर्जा समीक्षा अवधिमा ०.९९ प्रतिशत पुगेको हो । तर, पहिलो त्रैमासमा यस्तो कर्जा १.७७ प्रतिशत थियो ।

समीक्षा अवधिमा बैंकको सीडी रेसियो सुविधाजनक अवस्थामा छ । यस्तो अनुपात ७६.०६ प्रतिशत रहेको छ । यसको अर्थ ठूला बैंक लगानी गर्ने पैसा नभएर फिटफिट परिरहेको बेला यो बैंक चाहि थप लगानी गर्न सक्ने अवस्थामा रहेको देखिन्छ । 

यो अवधिमा बैंकको कस्ट अफ फण्ड ८.३१ प्रतिशत, इक्वीटीमा प्रतिफल ७.१३ प्रतिशत रहेको छ।

अघिल्लो वर्ष १२.१४ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) घटेर ८.४७ रुपैयाँमा सीमित भएको छ । चुक्तापँुजी ३ अर्ब ६८ करोडबाट बढेर ७ अर्ब ६७ करोड पुग्दा सो अनुपातमा नाफा नभएका कारण इपीएसमा गिरावट आएको हो ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२२.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.४९ गुणा र लिक्वीडीटी रेसियो २७.२८ प्रतिशत कायम भएको छ ।