काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा खूद नाफातर्फ ७४.६७ प्रतिशतको छलांग हानेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५० करोड १३ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर समीक्षा अवधिमा ८७ करोड ५७ लाखको उचाई चुमाएको हो । यो नाफा वितरणयोग्य मुनाफा समेत हो ।

बैंकले यो अवधिमा संभावित जोखिम व्यवस्थापनबाट ११ करोड २८ लाख रुपैयाँ राइटब्याक समेत गरेको छ ।

बैंकले संचालन मुनाफामा समेत उस्तै फड्को मारेको छ । अघिल्लो वर्ष ७७ करोड ४२ लाखमा सीमित संचालन नाफा बढेर यो वर्ष १ अर्ब २७ करोडको उचाईमा पुगेको हो । 

व्यवसाय बिस्तारमा बैंक नेतृत्वले ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्ष १ अर्ब १३ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ८३ करोड पुगेको छ । 

बैंकले ६ अर्ब ८ करोड ब्याजबाट मात्र आम्दानी गरेको छ । ब्याज खर्च ४ अर्ब २४ करोड रुपैयाँ रहेको देखिएको छ । 

समीक्षा अवधिमा सेञ्चुरी बैंकले ६१ अर्ब ३२ करोड  निक्षेप संकलन गरी ५४ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४२ अर्ब ५९ करोड निक्षेप संकलन गरी ३९ अर्ब ५० करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले आफ्नो जगेडाकोषलाई निकै मजुबत बनाएको छ । अघिल्लो वर्षसम्म ५२ करोड १२ लाखमा सीमित जगेडाकोषको आकारलाई १७९.७० प्रतिशतले बढाएर १ अर्ब ४५ करोडको उचाईमा पुर्याएको हो । 

बैंक व्यवस्थापनले खराब कर्जाको असूलीलाई प्राथमिकतामा राखेको रिपोर्टबाट देखिन्छ । यसैको फलस्वरुप १.१५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.४० प्रतिशतमा झार्न बैंक सफल बनेको छ । 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७५.७८ प्रतिशत, कस्ट अफ फण्ड ८.८६ प्रतिशत, इक्वीटीमा  प्रतिफल १०.१६ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.२० प्रतिशत कायम भएको छ। 

अघिल्लो वर्ष यही अवधिमा ८.६८ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी(इपीएस) बढेर १०.८६ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ११८.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५६ गुणा कायम भएको छ ।