काठमाण्डौ । नेपालको कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कार्यसञ्चालनको एक वर्षमै ५६ करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ।

२०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कार्य सञ्चालनको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ। नेपालको बीमा बजारमा ४० औँ र जीवन बीमा कम्पनीहरुमा १९ औँ कम्पनीका रुपमा कारोबार सञ्चालन गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स सबैभन्दा कान्छो बीमा कम्पनी हो। 

कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा सञ्चालन गरिसकेको छ। त्यसैगरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७,३२३ अभिकर्ताहरु यस कम्पनीमा कार्यरत रहेका छन्। 

कम्पनीले १ वर्षको छोटो अवधिमा महालक्ष्मी डवल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याईसकेको छ। कारोबार प्रारम्भको १ वर्षको छोटो अवधिमा कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको छ। कम्पनीले २०७६ आषाढ मसान्त सम्म रु ११ करोड १३ लाख र २०७६ पौष मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ। 

एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ। जुन सबै जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट रहेको छ। 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को अन्त सम्ममा थप २५ वटा शाखा र उपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अरब क्लवमा पुग्ने लक्ष्य लिएको छ। कम्पनीले १ महिनाभित्र शाखारहित बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने गरी तयारी गरिरहेको छ। 

वार्षिकोत्सवका अवसर पारेर कम्पनीले रु ५० लाखसम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पूरक सुविधा योजना संचालनमा ल्याएको छ।