काठमाण्डौ । धितोपत्र बजारमा इन्साइडर ट्रेडिङको धन्दा मौलाए पनि नियामनकारी निकायले यस्ता घटनामा मौनता साँध्ने गरेको छ । 

स्टक ब्रोकर कम्पनीको आड र सहभागितामा खुलेआम भित्री कारोबारको धन्दा मौलाइरहँदा नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डले कसुरदारलाई सजायको भागिदार नगराउँदा बजारमा उच्च जोखिम बढ्दै गइरहेको छ ।

केही दिनअघि सिभिल लघुवित्तले नियमित कारोबार समयमा लाभांश प्रस्तावको सूचना प्रकाशित गर्यो, तर आज नेपाल स्टक एक्सचेञ्जले आइन्दा यस्ता घटना नदोहोराउने भन्दै केबल सचेत गर्ने काम मात्र गराएर छाडिदियो । 

नेपाल स्टक एक्सचेञ्जको सुपरीवेक्षण क्षमता नै निकै कमजोर र बजारका नामुद व्यक्तिहरुसँगको उठबस र मिलेमतो भएकै कारण पनि पछिल्लो समयमा सिभिल लघुवित्त मात्रै हैन, हिजो कामना सेवा विकास बैंकको सेयरमा खुलेआम इन्साइडर ट्रेडिङ हुँदा समेत आज सेयर कारोबारले निरन्तरता पाएको छ ।

हिजो आइतबार कामना सेवा विकास बैंकको सेयरमा खुलेआम इन्साइडर ट्रेडिङको धन्दा हुँदा समेत नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले यसमा मौनता साँधेका छन् । 

हिजो आइतबार नियमित कारोबार समयमा कामना सेवा विकास बैंकको सेयर १० प्रतिशत हाराहारी वृद्धि भई पोजिटीभ सर्किट लागेर कारोबार बन्द भएको थियो । उक्त कम्पनीले हिजो त्यस्तो कुनै परिणाम दिने कार्य गरेन तर पनि कम्पनीको सेयरमूल्य भने एक्कासी ह्वात्तै बढ्यो । सेयरमूल्य एक्कासी बढ्नूमा कुनै कारण र आधार नभए पनि हिजो एउटा डरलाग्दै इन्साइडर ट्रेडिङ भने भएको देखियो ।

हिजो मूल्यवृद्धिको खास रहस्य चाहिँ कम्पनीले आज प्रकाशित गरेको दोस्रो वित्तीय विवरण रहेछ । कम्पनीले आज दोस्रो त्रैमासमा १६२.६२ प्रतिशत नाफा बढोत्तरी गर्दै रु.३०.७१ इपीएस बढाएको वित्तीय विवरण प्रकाशित भएको छ । वित्तीय विवरणमा छलाङ मारेको कम्पनीको सेयरमूल्य बढ्नु स्वभाविक हो र जायज पनि । तर प्रकाशित हुनुअगावै कम्पनीको सेयरमूल्य बढ्नु चाहिँ वित्तीय अपराध र नियमनकारी निकायको खुकुलोपना नै हो । यसले आज प्रकाशित भएको वित्तीय विवरण केही दिनअघि नै चुहिएर खेलाडीहरुको पहुँचमा पुगिसकेको प्रष्ट हुन्छ । यो धन्दा ब्रोकर, केही ठूला लगानीकर्ता मात्र होइन, बैंककै उच्च अधिकारीहरु समेत संलग्नता प्रष्टिन्छ । 

यो त केबल उदाहरण मात्रै हो । पछिल्लो समयमा नेप्सेमा सूचीकृत कम्पनीले वित्तीय विवरण प्रकाशन गर्नुअगावै चुहावट हुनु र कम्पनीले प्रदान गर्ने लाभांश सम्बन्धी सूचना चुहिने काम समेत सामान्य भइरहेको छ । पछिल्लो समयमा अधिकांश कम्पनीका लाभांश प्रस्ताव र वित्तीय विवरण बजारका केही बाठा सेयर खेलाडी र स्टक ब्रोकरसामु प्रकाशनअघि नै पुग्ने गरेको छ । 

हामीले हिजो यस विषयमा नेप्सेको फ्लोरसिट अध्ययन पनि गर्यौँ । अध्ययनकै क्रममा कामना सेवा विकास बैंकको हिजो कारोबार भएको कुल सेयर संख्यामध्ये स्टक ब्रोकर नम्बर ३४ बाट मात्रै ४५ हजार ८२० कित्ता र स्टक ब्रोकर नम्बर ५८ बाट २० हजार ४१० कित्ता कारोबार भएको देखिन्छ । यसको मतलब आज प्रकाशन हुन लागेको कामना सेवा विकास बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण हिजै वा त्योभन्दा पनि अगाडि नै ती ब्रोकर कम्पनीसँग पुगिसकेको थियो । ती ब्रोकर कम्पनीकै इशारामा त्यहाँ आबद्ध लगानीकर्ताले यो कम्पनीको सेयर जमाएरै उठाएका समेत यसले देखाउँछ । 

धितोपत्रको इन्साइडर ट्रेडिङ अर्थात् भित्री कारोबारलाई कसूर ठानी धितोपत्र सम्बन्धी ऐन,२०६३ को परिच्छेद ९ मा स्पष्ट रुपमा कारबाहीको व्यवस्था छ । सोही ऐनलाई टेकी नियामक नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले समेत कसूरदारलाई कार्वाहीको घेराभित्र ल्याई बजारलाई थप स्वच्छ र पारदर्शी बनाउन सक्दछन् । संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारीले बजार प्रभावित हुने सो परिच्छेदमा उल्लेख छ । जहाँ यस्तो कामलाई गम्भीर अपराध भनिएको छ । 

स्रोतले स्टक ब्रोकर नम्बर ३४ र ५८ मा बजारका केही नामुद सेयर लगानीकर्ता र सूचीकृत कम्पनीसम्म पहुँच राख्न सक्ने व्यक्तिहरु भएकै कारणसमेत ती ब्रोकर कम्पनीहरु पछिल्लो समयमा भित्री कारोबार गर्ने केन्द्रका रुपमा स्थापित हुँदै आएका दाबी गरेका छन् । 

बजारलाई उत्तारचढाव गर्ने सवालमा यिनै ब्रोकर कम्पनीहरुबाट धेरै पटक सेयरको चलखेल समेत हुँदै आए पनि फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीहरुसँगको हिमचिम र बलियो सम्बन्ध भएकै कारण नियामकले नजरअन्दाज गर्ने गरेका स्रोत बताउँछ ।

कामना सेवा विकास बैंकको भित्री कारोबारका विषयमा नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पुष्टि गर्न गाह्रो हुने बताए, तर अध्ययन गर्न भने सकिने जिकिर गरे । भित्री कारोबार भए नभएको विषयमा नेप्सेको सुपरीवेक्षणले हेरिरहेको जिकिर गर्दै प्रवक्ता पराजुली शंकास्पद कारोबार तथा गतिविधि भएकाले नेप्सेले अब अध्ययन गर्ने बताउँछन् ।