काठमाण्डौ । कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको ‘इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम’ सफलतापूर्वक सम्पन्न भएको छ।

गत माघ २ देखि माघ ६ गतेसम्म जुम मिटिङका माध्यमबाट अनलाइनमार्फत सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुकहरुको सहभागिता थियो। कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा करसम्बन्धी जानकारीहरु प्राप्त गर्र्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापनजस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीपसमेत प्राप्त गरेका थिए। 

समापन कार्यक्रममा बैंकका अध्यक्ष्य सुदिप आचार्यले यस्ता कार्यक्रमले उद्यमीहरुलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरलाई सही रुपमा पहिचान गरी नवीन सिर्जनामार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभ प्रदान गर्ने बताए। यसका साथै बैंकले नवउद्यमीहरुलाई हरतरहबाट साथ दिने र उनीहरुको नवीन सोच र सिर्जनालाई सधैँ प्रोत्साहन गरिरहने उनले आश्वासन दिए। 

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले सम्पूर्ण सहभागीहरुलाई अन्तर्क्रियात्मक सहभागिताका लागि धन्यवाद ज्ञापन गरी आगामी दिनमा सहभागीहरुको सफल उद्यमका लागि शुभकामना दिए। उनले सहभागीहरुको सफल उद्यमको यात्रामा अन्तरप्रेरणाले सधैँ आफ्नोतर्फबाट पूर्ण रुपमा साथ दिने प्रतिबद्धता पनि व्यक्त गरे। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सहभागीहरुलाई सफल उद्यमका लागि चाहिने पुँजी व्यवस्थापनका लागि लगानी तथा कर्जाका माध्यमबाट बैंकले पूर्ण रुपमा सहयोग गर्ने बताएका थिए।