काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। 

बैंकले सेवा विस्तार गर्ने क्रममा आज मंगलबारबाट नवलपरासीको कावसोती–११ कुडौलीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। कुडौलीस्थित गुरौ किराना पसल (प्रो. हेमराज गुरौ) लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

वडा नं. ११ का वडाअध्यक्ष शारदाप्रसाद अधिकारीले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। 

कार्यक्रममा बैंकका तर्फबाट नारयणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीलगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो। 

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।