काठमाण्डौ । कामना सेवा विकास बैंकको कर्जा अपचलन प्रकरणमा हालसम्म पूर्वसीईओ प्रवीण बस्नेतसहित चारजना प्रहरी नियन्त्रणमा रहेका छन्। तीनजनालाई प्रहरीले पक्राउ गरेको हो भने पूर्वसीईओ बस्नेतले आत्मसमर्पण गरेका हुन्।

आफू सीईओ रहँदा बस्नेतले विभिन्न कर्मचारीहरुसँग मिलेर झापाको दमकस्थित कमसल धितो राखेर करोडौँ रकम कर्जा प्रवाह गरेको राष्ट्र बैंकको अनुसन्धानबाट पुष्टि भएको थियो।

पूर्वसीईओ बस्नेतले बैंकका कर्मचारीसहित अन्य १४ जनाको मिलेमतो कमसल धितोमा दमक क्षेत्रमा विभिन्न कम्पनीका नाममा करोडौँ रकम कर्जा प्रवाह गरेका थिए। कम मूल्यांकनको धितोलाई उनीहरुले ८ करोड ८५ लाख रुपैयाँबरारबको कर्जा दिएका थिए।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक देवानन्द मिश्रले जिल्ला अदालत झापाले १५ जनालाई प्रक्राउ गर्न अनुमति दिएसँगै हालसम्म पूर्वसीईओसहित बस्नेतसहित ४ जनालाई पक्राउ गरिसकिएको जानकारी दिए। ‘अहिले उनीहरुमाथि म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ’, उनले भने, ‘बस्नेत भने आफैँ हाम्रो सम्र्पकमा आउनुभएको हो।’

मिश्रले कर्जा अपचलनमा मिलेमतो रहेका बाँकी ११ जनाको भने खोजीकार्य जारी नै रहेको बताए। हालसम्म पक्राउ पर्नेमा बैंकका पूर्वसीईओ बस्नेत र बैंकका कर्मचारी वीरेन्द्रसिंह भण्डारी रहेको उनले बताए। 

त्यस्तै ऋणीहरु चन्द्रबहादुर थापा र हरेन्द्र दाहाल पनि पक्राउ परिएको मिश्रले जानकारी दिए।