काठमाण्डौ । नेपालमा दिनहुँ चार पाङ्ग्रे निजी सवारीको संख्या बढिरहेको छ । बढ्दो जनसंख्या र सुध्रदो आर्थिक अवस्थासँगै चारपाङ्ग्रेका प्रयोगकर्ता पनि नेपालमा बढिरहेका छन् । यस्तो अवस्थामा भारत वा अन्य मुलुकको सोझो प्रभाव नेपालको अटो क्षेत्रमा पनि पर्ने गर्छ । यहीकारण पछिल्लो समय नेपालको अटो क्षेत्र समेत इलेक्ट्रिक तथा हाइब्रीड टेक्नोलोजी जडित कारतर्फ क्रमशः अगाडि बढिरहेको छ । सरकारले इलेक्ट्रिक कारहरुको आयातलाई समेत प्रोत्साहन गरेको छ । तर, अहिले चलिरहेका डिजेल वा पेट्रोल कारहरुमा पनि केही यस्तो प्रविधि छ, जसलाई जडान गर्न सकियो भने यसको संचालन खर्च समेत इलेक्ट्रिक कारकै हाराहारीमा सीमित पार्न सकिन्छ । 

के हो यो प्रविधि ? 
कतिपय कम्पनी पेट्रोल, डिजेल वा सिएनजी कारमा इलेक्ट्रिक वा हाइब्रीड मोटरलाई लगाउने काम गरिरहेका छन् । कारमा त्यस्तै ब्याट्री समेत फिट गरिन्छ । यसलाई रेट्रोफिटिङ समेत भनिन्छ । यो प्रविधि जडान गरेपछि तपाईको कार पेट्रोल र डिजेल अलावा विद्युतबाट समेत चल्नेछ । 

कसरी हुन्छ काम ?
अन्तर्राष्ट्रिय प्रोडक्ट केपीआइटी टेक्नोलोजीले यसका लागि रेवोलो नामको प्रोडक्ट तयार गरेको संचारमाध्यमहरुले जनाएका छन् । यो सिस्टममा एक इलेक्ट्रिक मोटर हुन्छ, जसलाई इञ्जिन फेन बेल्टबाट जोडिन्छ । त्यसपछि लिथुुइम आयन ब्याट्रीसँग जोडिन्छ । यसलाई पछि निकै सहज ढंगले चार्ज गर्न सकिन्छ । इलेक्ट्रिक मोटरले पेट्रोल वा डिजेल इञ्जिनको क्र्याकसफ्टलाई पावर दिइदिन्छ, जसको परिणामस्वरुप फ्यूल इफिसिएन्सी ३५ प्रतिशतले बढ्छ । त्यसपछि एमिशनमा ३० प्रतिशतले कमी आउँछ । 

अन्य केही कम्पनीले पनि यस्तै इलेक्ट्रिक किट उपलब्ध गराइरहेका छन् । यसमा टारा इन्टरनेशनल कम्पनी पनि रहेको छ । जसले इलेक्ट्रिक तथा हाइब्रिड रेट्रोफिटिङ किट उपलब्ध गराउँछ । यो कम्पनीको सिस्टम जडान गरे कार चलाउने खर्च ६० प्रतिशतले घट्नेछ । 

कसरी जडान हुन्छ यो सिस्टम ?
यो किटअन्तर्गत कम्पनीले २ फिट वा ३ फिटको ब्ल्याकबक्सको साथमा मोटर, मोटरका लागि कन्ट्रोलर, चार्जस् तथा ब्याट्री म्यानेजमेन्ट सिस्टम दिन्छ । एक युनिटमा करिब ८ सयदेखि १ हजार ब्याट्रीहरु हुन्छन् । सवारीको हर्स पावरको आधारमा विभिन्न किट्स लगाइन्छ । यसको रेञ्ज ८ सय सीसीदेखि २५ सय सीसीसम्मको हुन्छ । इलेक्ट्रिसिटीको ८ युनिट ७ देखि ८ घण्टाको अवधिमा चार्ज हुन्छ  र यसको गति १ सयदेखि १२० किलोमिटरसम्म हुनसक्छ । 

कति महंगो पर्ला ?
मारुती अल्टोजस्तो सामान्य कारका लागि यो सिस्टम जडान गर्दा लाग्ने खर्च बढीमा १ लाख २० हजारसम्म मात्र हुन्छ । तर, ठूलो डिजेलवाला सेडान तथा एसयूूभीका लागि यस्तो खर्च करिब १ लाख ६० हजारसम्म पर्न सक्छ । 

यो सिस्टम आफ्नो पुरानो कारमा जडान गर्दा तपाईको नियमित खर्चमा भारि कटौति मात्र हुँदैन, यसले प्रदूूषण नियन्त्रणको अभियानमा पनि महत्वपूर्ण साथ दिनेछ ।